२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरोना जोखिम भत्ता नपाएका कलैयाका स्वास्थ्यकर्मी आन्दोलित

लक्ष्मी साह

बारा — कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका छन् । आकस्मिक, प्रसूति र ओपीडी सेवाबाहेकका अस्पतालका अरु स्वास्थ्य सेवा ठप्प पारेर उनीहरु पाँच दिनदेखि अस्पताल परिसरमा विभिन्न मागसहित धर्ना बसिरहेका छन् ।

कोरोना जोखिम भत्ता नपाएका कलैयाका स्वास्थ्यकर्मी आन्दोलित

‘१० महिना भइसक्यो, अझै कति ?’, हाम्रो कोरोना भत्ता खोइ ?’, काम गराउने बेला अग्रपंक्ति, भत्ता दिने बेला पछाडि पंक्ति ?’, ‘सान्तावना होइन, भत्ता देऊ, अर्को माहामारी आउँदैछ, हाम्रो मनोबल घट्दैछ’ लगायतका मागका ‘प्लेकार्ड’ सहित उनीहरु आन्दोलनरत छन् । अस्पतालका १ सय ५ जना स्वास्थ्यकर्मी र कर्मचारीले पाउनुपर्ने ८० लाख रुपैयाँ नपाएका कारण आन्दोलित भएको उनीहरुले बताए । अस्पतालका तत्कालीन सुपरिटेन्डेडले भत्ताको उक्त रकम समयमै निकासा नगराएपछि रकम फेरि सरकारकै ढुकुटीमा फिर्ता (फ्रीज) भएको थियो ।

आन्दोलित कर्मचारी र स्वास्थ्यकर्मीमध्ये २० जना सक्रिय रुपमा कोरोना संक्रमित भइ आइसोलेसनमा बसेर निको भएका थिए । अस्पतालका तत्कालीन प्रमुख (मेसु) वीरेन्द्र मण्डलले उक्त भत्ता समयमै निकासा नगराएपछि आफूहरु भत्ता पाउनबाट वञ्चित भएको आन्दोलित स्वास्थ्यकर्मी बताउँछन् । गत असार ३० मा उनीहरुको उक्त भत्ता संघीय सरकार हुँदै प्रदेश सरकार मार्फत जिल्ला अस्पतालमा आएको थियो।

सरकारले कलैया अस्पताललाई कोभिड अस्पताल बनाएको छ । ‘कोभिड अस्पतालकै कर्मचारीलाई भत्ता नदिएर सरकारले स्वास्थ्यकर्मीसित बेइमानी गरेको छ,’ कोरोना भत्ता संघर्ष समितिका सदस्य तथा कलैया अस्पताल अन्तर्गत प्रयोगशालाका प्राविधिक फूलमहम्मद अन्सारीले भने, ‘नजिकैका स्वास्थ्य कार्यालयका कर्मचारी र स्वास्थ्यकर्मीले भत्ता खाइसके तर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीले भत्ता पाएका छैनन् ।’

भत्ताको लागि आस्वासन कुर्दाकुर्दै सेवा ठप्प गरेर धर्ना बसेको पनि पाँच दिन बितिसक्दा कतैबाट सुनुवाइ नभएको उनले बताए । अन्सारी आफै सक्रिय संक्रमित भएका स्वास्थ्यकर्मी हुन् । ‘सरकारले कोरोना जोखिममा काम गराउँदा ‘फ्रन्टलाइनर’ बनाएको छ, तर भत्ता दिने बेला ‘ब्याकलाइनर’ बनाएको छ’, अस्पतालकी कर्मचारी शोभा राजवंशीले भनिन्, ‘१० महिना भइसक्यो तर भत्ता पाएका छैनौं ।’

हालसालै सरुवा भइ कलैया अस्पताल आएका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल कुसवाहाले चालु वर्षको भत्ता आइनसकेकोले वितरण नगरिएको बताए । ‘गत वर्षको आफूलाई थाहा भएन, यसपालि आउने भत्ता दिन्छु,’ उनले भने, ‘आफ्नो कारणले उहाँहरुलाई समस्या छैन् ।’

प्रकाशित : माघ ३, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?