१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सीमा क्षेत्रमा बढ्यो स्रोत नखुलेको रकम ओसारपसार

शिव पुरी

रौतहट — पछिल्लो समय सीमा क्षेत्रमा स्रोत नखुलेको रकमको ओसारपसार बढेको छ । ओसारपसारमा संलग्न अधिकांश भारतीय नागरिक छन् । सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रबाट साउनयता ६ महिनाको अवधिमा स्रोत नखुलेको १ करोड ९ लाख बढी रकम बरामद गरिसकेको छ ।

सीमा क्षेत्रमा बढ्यो स्रोत नखुलेको रकम ओसारपसार

इलाका प्रहरी मौलापुरबाट खटिएको टोलीले जाँचका क्रममा भारतबाट प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाइकलमा अवैध रुपमा ल्याइएको रकमसहित बाराको सिम्रोनगढ नगरपालिका–१ धिरेन्द्र साहलाई ८ लाख स्रोत नखुलेको रकमसहित बुधबार पक्राउ गरेको छ । यस्तै पुस ११ गते सदरमुकाम गौर नगरपालीका–२ महादेवपट्टीस्थित सडकमा स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित भारतको पूर्विचम्पारण थाना ढाका, ग्रामपञ्चायत फुलबरिया–१० का ललनकुमार र रोहितकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले अवैध रुपमा ल्याएको रकम व्यापारिक प्रायोजनका लागि भनेका थिए ।

पक्राउ परेका भारतीय नागरिक र रकम आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । ‘सीमाक्षेत्रमा कर छल्न र विभिन्न प्रायोजनका लागि स्रोत नखुलेको रकम ओसारपसार बढेको सुराकीपछि जाँच कडा पारेका छौं,’ उनले भने,‘कोभिड–१९ को कारण अहिले पनि सीमा क्षेत्र बन्द छ । यस्तैबेला अवैध काम गर्ने सलबलाउन खोज्छन् । उनीहरुको गलत काम सफल हुन दिँदैनाैं ।’ जिल्ला प्रहरी कार्यालय गौरका अनुसार २०७७ साउनयता ६ महिनाको अवधिमा सीमा क्षेत्रबाट स्रोत नखुलेको ६५ लाख २० हजार रकमसहित ९ जनालाई पक्रिएको छ । पक्राउ पर्नेमा दुई महिलासहित ५ भारतीय छन् । यो तथ्यांक नेपाल प्रहरीको मात्रै हो ।

यता सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले साउनयता ६ महिनाको अवधिमा स्रोत नखुलेको ४४ लाख ८१ हजार ९ सय साठी रुपैयाँ बरामद गरेको छ । रकमसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३ भारतीय छन् । सशस्त्रले साउन र भदौ दुई महिनाको अवधिमा श्रोत नखुलेको यति धेरै रकम बरामद गरेको हो । भारतबाट अवैध रुपमा लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा रकम बरामद भएका हुन् ।

गएको भदौ ३ गते गौर नगरपालिका–२ महादेवपट्टीस्थित भारतको सितामढी बैरगनीया–१ सुन्दरीया बस्ने ४५ वर्षीया शान्ति देवी र ४४ वर्षीया मिना देवीलाई अवैध रुपमा नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ६ लाख ४० हजार नेपाली रुपैयाँ सहित सशस्त्र प्रहरी बल नेपाल बीओपी गौरबाट खटिएको टोलीले पक्राउ गरेको थियो । सीमा क्षेत्रमा गस्ती र नियमित जाँचका क्रममा पारीबाट लुकाएर ल्याइएका रकम बरामद गरिएको सशस्त्रका एसपी सूर्यसेन ओलीले बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर गौरका अनुसार स्रोत नखुलेको रकमसहित २ थान भारतीय नम्बर प्लेटको मोटरसाइकल र ६ जनालाई पक्राउ गरिएको छ । तीमध्ये ३ जना भारतीय छन् । उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि भन्सार बुझाइएको थियो । भारतमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि गएको चैत ११ गतेबाट नेपाल भारत सीमाक्षेत्र नाका बन्द गरिएको छ । तर अवैध काम गर्नेहरु चोरबाटो हुँदै वारपार गर्छन् ।

प्रकाशित : पुस २४, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?