२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चन्द्रपुरमा आईई स्वीकृत नगरीकनै नदीजन्य सामग्री निकासीको ठेक्का

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईई) स्वीकृत नै नभई वाग्मती र चाँदी नदीबाट निर्माण सामग्री निकासी गर्न ठेक्का लगाएको पाइएको छ । नगरले एक महिनाअघि नियमविपरीत ठेक्का लगाएपछि जिल्ला प्रशासन र डिभिजन वनले चासो देखाएका छन् ।

चन्द्रपुरमा आईई स्वीकृत नगरीकनै नदीजन्य सामग्री निकासीको ठेक्का

वडा नम्बर १ मा वाग्मती नदी क्षेत्रबाट दैनिक ३ सय मिटर ढुंगा, गिट्टी तथा बालुवा र वडा नम्बर २, ३, ४, ५, ७, ८ र ९ मा चाँदी नदी क्षेत्रबाट दैनिक ९ सय घनमिटर सामग्री संकलन गर्ने गरी कात्तिक र मंसिरमा ठेक्का दिइएको हो । वाग्मतीमा आरएस कन्स्ट्रक्सनले ३ करोड १ लाख र चाँदी नदीमा आशिष कन्स्ट्रक्सनले ३६ लाख रुपैयाँमा ठेक्का सकारेका छन् । नियमविपरीत ठेक्का लगाइएको उजुरी परेपछि जिल्ला प्रशासनले तीन दिनभित्र सत्यतथ्य खुलाएर जवाफ दिन मंसिर १७ गते नगरपालिकालाई पत्रसमेत पठाएको थियो । तर नगरपालिकाले अझै जवाफ नपठाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

नगरले आईईबिनै ठेक्का लगाएको भन्दै डिभिजन वनले पनि आपत्ति जनाएको छ । डिभिजनले १५ बुँदे सुझाव पठाई परीक्षण प्रतिवेदन स्वीकृत गराएर मात्र ठेक्का बन्दोबस्ती गर्न भनेको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयले साउन ५ गते जारी गरेको मापदण्डमा पनि आईई प्रतिवेदन स्वीकृत गराएर मात्र स्थानीय तहले ठेक्का लगाउनुपर्ने उल्लेख छ । नगरले उक्त मापदण्डको विरुद्धमा गएर ठेक्का दिएको डिभिजन वन प्रमुख विनोद सिंहले बताए । ‘चन्द्रपुर नगरपालिकाले नियम–कानुनको धज्जी उडाउँदै नदीजन्य वस्तुको ठेक्का लगाएको छ । अधिकार पायो भन्दैमा जे मन लाग्यो त्यही गर्न कानुनले छुट दिएको छैन,’ उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले भने आईई पास भइसकेको दाबी गरे । उनले यस्तो बताए पनि आईईमा डिभिजन वनका तर्फबाट हस्ताक्षर भएको छैन । नगरपालिका र वन दुवैका तर्फबाट हस्ताक्षर नभई आईई स्वीकृत नहुने डिभिजन वनले जनाएको छ ।

प्रकाशित : मंसिर ३०, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?