३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जनकपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन

सन्तोष सिंह

धनुषा — काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पहिलोपटक जनकपुर विमानस्थलमा स्टिल स्ट्रक्चरको आधुनिक टर्मिनल भवन निर्माण गरिएको छ । करिब ४२ करोड रुपैयाँ लागतमा ८ वर्ष लगाएर भवन बनाइएको हो ।

जनकपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन

टर्मिनल भवनको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरे । भारत सरकारको सहयोगमा ५३ वर्षअघि निर्माण गरिएको जनकपुर विमानस्थलको पुरानो दुईतले टर्मिनल भवनको उद्घाटन तत्कालीन राजा महेन्द्रले २०२४ कात्तिक ८ गते गरेका थिए ।

विमास्थलका अनुसार ६ सय यात्रु अटाउने नयाँ टर्मिनल भवनमा फायर अलार्म, एक्सरे स्क्यानिङ, धावनमार्ग प्रस्टै देखिने ६ तले धावनमार्ग, रेस्टुरेन्ट, ३५ जना अट्ने सुरक्षा गार्ड भवन, स्तनपान कक्ष, भीआईपी कोठा र लबिइङ तथा व्यवस्थित पार्किङ छ । पार्किङमा ८० वटा कार, १ सय ५० मोटरसाइकल एकैपटक राख्न मिल्ने नागरिक उड्डयन कार्यालयका इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

‘जनकपुर विमानस्थलको पुरानो टर्मिनल भवन जीर्ण र संकुचित बनिसकेको थियो,’ उनले भने, ‘यात्रु बस्ने ठाउँ सीमित थियो । नयाँ टर्मिनल भवन नेपालकै नमुना र सुविधासम्पन्न बनेको हो ।’ गार्डेन, पार्किङ, व्यावसायिक क्षेत्रसहित ११ हजार स्क्वायर फिट रहेको नयाँ टर्मिनलमा भवन मात्रै ४ हजार १ सय ३४ स्क्वायर फिटमा बनाइएको छ ।

टर्मिनल भवनमै ६ एयरलाइन्सको कार्यालय, प्यासेन्जर एलाउन्स, धुम्रपान क्षेत्र छुट्टै बनाइएको छ । २०६९ कात्तिक १२ गते नयाँ टर्मिनल भवन निर्माणको काम सुरु भएको थियो । पप्पु कन्ट्रक्सनले २४ महिनामा काम सक्ने ठेक्का सकारेको थियो । चारपटक म्याद थप गर्दा पनि निर्माण पूरा नहुने छाँट देखिएपछि नागरिक उड्डयन कार्यालयले पप्पुसँग ठेक्का खोसेर थेगेङी–ग्लवा–उमा एन्ड कम्पनीलाई जिम्मा दिएको थियो । उक्त कम्पनीले २१ करोड २७ लाखमा दोस्रो चरणको काम गरेको हो ।

प्रकाशित : मंसिर २४, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?