पर्सामा प्रहरी र पोके तस्करबीच झडप, असई घाइते

भूषण यादव

वीरगन्ज — सीमावर्ती भारतको रक्सौलबाट भन्सार राजस्व छली अवैध रुपले कपडा भित्र्याउन खोज्ने समूह र प्रहरीबीच झडप भएको छ । झडपमा अस्थायी प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक (असई) जयप्रकाश पाण्डे घाइते भएका छन् । असई पाण्डेको नाकमा चोट लागेको छ । नारायणी अस्पतालमा उनको उपचार भइहरेको छ । 

पर्सामा प्रहरी र पोके तस्करबीच झडप, असई घाइते

झडपमा संलग्न आरोपमा प्रहरीले एक महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार अपराह्न टाउको र काँधमा स्वेटर र कपडा बोकेर आउने महिला समूहलाई नियन्त्रणमा लिन असई पाण्डे दुईजना प्रहरी लिएर खेतमा ढुकेर बसिरहेका थिए । करिब साढे दुई बजेको समयमा भारततर्फबाट कपडा बोकेर आएका दुईजना महिलालाई नियन्त्रणमा लिँदा झडप भएको हो ।

असई पाण्डेले तस्कर समूहले गोली चलाउँदा नाकमा चोट लागेको बताएका छन् । असई पाण्डेका अनुसार प्रहरी टोली पुग्दा पूरा तस्करी भइरहेको थियो । ‘हामीले रोकेपछि उखुबारीबाट फायर नै खोले,’ असई पाण्डेले भने, ‘टाढा भएकाले कुन हतियार थियो, थाहा भएन । नाकमा छर्रा लागेको छ ।’

फायर खोलेको खबर ‘झुठो’

झडपमा चोट लागेपछि असई पाण्डेको नाकबाट रगत बग्न थाल्यो । तत्काल उनले माथिल्लो युनिटमा तस्करलाई रोक्न खोज्दा सीमा नजिकैको उखु घारीबाट गोली फायर भएको र आफूलाई छर्रा लागेको जाहेर गरे । गोली चलेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट एसपी गंगा पन्त, डिएसपी मनोजित कुँवर सहितको टोली थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए । असई पाण्डेले चौकीमा उपस्थित संचारकर्मीलाई समेत एक राउण्ड गोली प्रहार भएपछि हाम्रो टोली ब्याक भएको जानकारी दिएका थिए । असईको नाकको घाउ देखेपछि एसपी पन्तले गोली नचलेको प्रतिक्रिया दिइन् । ‘अवैध कारोबारीलाई नियन्त्रणमा लिँदा भएको दोहोरो झड्पमा चोट लागेको देखिन्छ,’ उनले भनिन्, ‘गोली प्रहार भएको छैन ।’

सशस्त्र प्रहरी बल इनर्वाको टोलीसमेत उक्त क्षेत्रमा परिचालन हुने गरेको छ । सशस्त्रका जवानले पनि त्यहाँ गोली नचलेको दाबी गरे । गोली नचलेको पुष्टि भएपछि जिल्लाबाट आएको टोली घटनास्थल नपुगी फर्केको थियो ।

‘लेनदेन’ नमिल्दा झडप

घटनास्थलका बासिन्दाले दुई पक्षबीच ‘आर्थिक लेनदेन’मा कुरा नमिल्दा झडप भएको प्रतिक्रिया दिएका छन् । स्थानीयका अनुसार सादा पोसाकमा रहेका असई पाण्डेले कपडा नियन्त्रणमा लिएर प्रत्येक महिलासँग ५ सय रुपैयाँ मागेका थिए । ‘एक खेपमा (रक्सौलबाट वीरगन्ज कपडा पुर्‍याउँदा) हामीले कमाउने भनेको दुई सय मात्र हो,’ इनर्वा निवासी मिनाले भनिन्, ‘सय रुपैयाँ दिँदा मानेन्, कपडाको झोला तानातानमा असई साहेबको नाकमा चोट लाग्यो ।’

कपडा नियन्त्रणमा लिन प्रहरीले झोलासहित हामीलाई खेतमै लछारपछार गरेको उनले आरोप लगाइन् । ‘छठ अगाडिसम्मको महिनावारी (लाइन चलाएबापत प्रत्येक महिना दिइने रकम) दिएकै थियौं,’ उनले भनिन्, ‘दुई/तिन दिनमा मंसिर महिनाको पैसा पनि दिन्थ्यो, यहीबीचमा यस्तो घटना घट्यो । कपडामात्र हैन, मरिच, केराउ, मटर, छोक्डा हरेक चिज त पास भएकै छ ।’

असई पाण्डेले आफूले पैसा नमागेको बताए । ‘अरुले पैसा लिँदो होलान्, त्यो मलाई थाहा भएन,’ उनले भने, ‘तर, म पैसा लिने पुलिस हैन ।’ प्रहरीलाई कुटपिट गरेको आरोपमा एक महिलासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले दुईजनाको नाम खुलाएको छैन । प्रत्यक्षदर्शीका अनुसार असई पाण्डेलाई हिर्काउने समूह पुन: भारत गइसकेका छन् । ‘झड्पको भिडियो बनाउने र महिलालाई किन लछारपछार गरेको सोध्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो,’ इनर्वा निवासी ती प्रत्यक्षदर्शीले भने, ‘रक्सौल गइरहेका एक परिवारले झडपको भिडियो बनाउँदा प्रहरीले कुटपिट गरी लखेटेका थिए ।’ असई पाण्डेले भने पक्राउ परेका युवकसँग नै हतियार रहेको दाबी गरेका छन् । 'प्रहरीले समाउन खोज्दा उनले हतियार बोर्डर उता फ्याँके', असई पाण्डेले भने ।


प्रकाशित : मंसिर ७, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?