प्रदेश २ सरकारले बस सञ्चालन गर्ने- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ सरकारले बस सञ्चालन गर्ने

रासस

धनुषा — प्रदेश–२ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ ।

भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलले बताउनुभयो ।

प्रतिबस रु ६७ लाख ९५ हजारमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई, जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

प्रकाशित : मंसिर २, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

महानगरले ठाउँ नताेकेपछि खुल्लामञ्चमै खाना बाँडियाे

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउन बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना बाँडेको छ ।

कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभई कुनैपनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन स्वयंसेवीहरूलाई आग्रह गरेको थियो । सोही अनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए ।

खाना खान आउने मानिसहरु भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कि काम देऊ होइन भने खान देऊ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आएर नि:शुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन् । सडकमा बसेर खाना खान आफूहरुको रहर नभइ बाध्यता भएको पनि उनीहरुले बताए ।

हाम्रो टीम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परेका व्यक्तिहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा नि:शुल्क खाना खुवाउने काम गर्दै आएको छ । तर काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउादा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।

प्रकाशित : मंसिर २, २०७७ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×