नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप, ८ जना घाइते

भूषण यादव

वीरगन्ज — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा बिहीबार दुई पक्षबीच झड्प भएको छ । झडपमा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप, ८ जना घाइते

विन्दवासनी गाउँपालिका–५ परसौनी भाठामा नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै विरोध जनाएका थिए । कार्यक्रमस्थलमा प्रवेश नपाएपछि भएको विवाद लाठी हानाहान भएको थियो । दुबै पक्षबाट ८ जना घाइते भएका छन् । जसमध्ये सामान्य उपचार गराएर ३ जना डिस्चार्ज भएका छन् ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले कार्यक्रमबारे प्रहरीलाई पूर्व जानकारी नगराइएकाले शपत ग्रहण कार्यक्रममा प्रहरी नपुगेको बताए । ‘झडपको खबर पाउनासाथ प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘दुबै पक्ष गरी ८ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।’ उनका अनुसार लाठी प्रहारबाट टाउको फुटेको परसौनीभाठा निवासी मुकेश चौरिसयाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको वीरगन्जकै एक निजी अस्पतालमा उपचार भइरहेको छ । दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

दुई पक्षबीच झडप भए पनि शपथ ग्रहण कार्यक्रम रोकिएन । पार्टी अध्यक्ष प्रभु हजराले दुखदायी घटना घटेको बताए । ‘विन्दवासनीमा बहुत गलत भएको छ,’ उनले भने, ‘दुई विशाल पार्टी मिलेर भएको एकतामा केही नयाँ मान्छे पनि आएका छन् । पार्टीमा अझै सिस्टम बसिसकेको छैन ।’ उनका अनुसार जिल्लामा खासै विवाद थिएन । आफू कार्यक्रमस्थल नपुग्दै झड्प भइसकेको उनले जनाए ।


प्रकाशित : कार्तिक ६, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?