२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चन्द्रपुरमा शिक्षकबाट उठाइएको रकम अझै कोरोना कोषमा पुगेन

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै गत चैतमा स्थानीय शिक्षकहरूबाट उठाएको रकम अझै सरकारको कोषमा जम्मा गरेको छैन । १० लाखभन्दा बढी रकमको अहिलेसम्म हिसाबकिताबसमेत सार्वजनिक गरिएको छैन ।

यसरी उठाइएको रकम नेपाल सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको ठाडो आदेशमा नगरक्षेत्रका १२ मावि, ११ निमावि र २३ प्राविका ३ सय १५ शिक्षकको तलबबाट उक्त रकम उठाइएको थियो । शिक्षकहरूले रकम कहाँ खर्च भयो भनी खोजी गरे पनि उपसचिव सिग्देलले चासो देखाएका छैनन् ।

शिक्षकहरूले त्यति बेला आफूहरूसँग रकम उठाउनु निर्देशिकाविपरीत हुने भन्दै विरोध गरेका थिए । जिल्लाका १८ वटा पालिकामध्ये चन्द्रपुरबाहेक अरू कुनै स्थानीय तहमा शिक्षकको तलब कट्टा गरिएको छैन ।

संक्रमणको सुरुआती चरणमै सरकारले निजामती कर्मचारीको पदअनुसार तलबबाट रकम जम्मा गर्ने भने पनि त्यसमा शिक्षकहरू समावेश थिएनन् । पछि सिग्देलको आदेशमा चैत महिनाको तलबबाट पैसा काटिएको जनज्योति मावि चन्द्रनिगाहपुरका सहप्रधानाध्यापक देवनारायण हुमागाईंले बताए । ‘रकम लिएको ७ महिना बितिसक्दा पनि हिसाबकिताब सार्वजनिक गरेका छैनन्,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि शिक्षकहरूबाट उठाइएको रकमबारे चासो देखाएका छन् । उनले उपसचिव सिग्देलसँग यसबारे सोधपुछ गरेका छन् । ‘सरकारले तोकेको उपचार कोषमा जम्मा नगरी आफूखुसी अन्यत्र जम्मा गर्न पाइँदैन,’ उनले भने, ‘यसको यथार्थ बुझ्छु, रकम उठाएर किन अन्य खातामा राखिएको हो ?’

नगरपालिकाले प्राविका शिक्षकको तीन दिन, निमाविको ५ दिन र माविका शिक्षकको ७ दिनको तलब उठाएको थियो । नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपेन्द्र मण्डलले १० लाख २६ हजार रुपैयाँ जम्मा भएको बताए । ‘कोरोना नियन्त्रणका नाममा शिक्षकको तलबबाट रकम कट्टा नगरौं भनेकै हो । उठाइसकेपछि पनि चौमासिकका बेला फिर्ता गरौं भनेको हो,’ उनले भने, ‘सिग्देल सरले मान्नुभएन ।’ चन्द्रपुर नगरपालिकाले महिला फुटबल एकेडेमीमा क्वारेन्टाइन स्थापना गरेको थियो । त्यसमा गुजरा, वृन्दावन र गढीमाई नगरपालिकाले समेत बजेट सहयोग गरेका छन् । त्यस्तै ४२ बेडको आइसोलेसन निर्माणमा पनि चारवटै नगरपालिकाले झन्डै ७५ लाख रुपैयाँ सहयोग गरेका थिए । उक्त रकम सबै खर्च हुन सकेको छैन ।

उपसचिव सिग्देलले शिक्षकबाट उठाइएको रकम विपत् व्यवस्थापनको खातामा जम्मा भएको र अहिलेसम्म खर्च नभएको बताए । उनले यसबारे लेखा अधिकृत कीर्ति सुवेदीसित जानकारी लिन अनुरोध गरे । अधिकृत सुवेदीले पनि उक्त रकम कोरोना उपचार कोषमा जम्मा हुन नसकेको जनाएका छन् ।

प्रकाशित : कार्तिक ५, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?