चन्द्रपुरमा शिक्षकबाट उठाइएको रकम अझै कोरोना कोषमा पुगेन- प्रदेश २ - कान्तिपुर समाचार

चन्द्रपुरमा शिक्षकबाट उठाइएको रकम अझै कोरोना कोषमा पुगेन

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै गत चैतमा स्थानीय शिक्षकहरूबाट उठाएको रकम अझै सरकारको कोषमा जम्मा गरेको छैन । १० लाखभन्दा बढी रकमको अहिलेसम्म हिसाबकिताबसमेत सार्वजनिक गरिएको छैन ।

यसरी उठाइएको रकम नेपाल सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको ठाडो आदेशमा नगरक्षेत्रका १२ मावि, ११ निमावि र २३ प्राविका ३ सय १५ शिक्षकको तलबबाट उक्त रकम उठाइएको थियो । शिक्षकहरूले रकम कहाँ खर्च भयो भनी खोजी गरे पनि उपसचिव सिग्देलले चासो देखाएका छैनन् ।

शिक्षकहरूले त्यति बेला आफूहरूसँग रकम उठाउनु निर्देशिकाविपरीत हुने भन्दै विरोध गरेका थिए । जिल्लाका १८ वटा पालिकामध्ये चन्द्रपुरबाहेक अरू कुनै स्थानीय तहमा शिक्षकको तलब कट्टा गरिएको छैन ।

संक्रमणको सुरुआती चरणमै सरकारले निजामती कर्मचारीको पदअनुसार तलबबाट रकम जम्मा गर्ने भने पनि त्यसमा शिक्षकहरू समावेश थिएनन् । पछि सिग्देलको आदेशमा चैत महिनाको तलबबाट पैसा काटिएको जनज्योति मावि चन्द्रनिगाहपुरका सहप्रधानाध्यापक देवनारायण हुमागाईंले बताए । ‘रकम लिएको ७ महिना बितिसक्दा पनि हिसाबकिताब सार्वजनिक गरेका छैनन्,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि शिक्षकहरूबाट उठाइएको रकमबारे चासो देखाएका छन् । उनले उपसचिव सिग्देलसँग यसबारे सोधपुछ गरेका छन् । ‘सरकारले तोकेको उपचार कोषमा जम्मा नगरी आफूखुसी अन्यत्र जम्मा गर्न पाइँदैन,’ उनले भने, ‘यसको यथार्थ बुझ्छु, रकम उठाएर किन अन्य खातामा राखिएको हो ?’

नगरपालिकाले प्राविका शिक्षकको तीन दिन, निमाविको ५ दिन र माविका शिक्षकको ७ दिनको तलब उठाएको थियो । नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपेन्द्र मण्डलले १० लाख २६ हजार रुपैयाँ जम्मा भएको बताए । ‘कोरोना नियन्त्रणका नाममा शिक्षकको तलबबाट रकम कट्टा नगरौं भनेकै हो । उठाइसकेपछि पनि चौमासिकका बेला फिर्ता गरौं भनेको हो,’ उनले भने, ‘सिग्देल सरले मान्नुभएन ।’ चन्द्रपुर नगरपालिकाले महिला फुटबल एकेडेमीमा क्वारेन्टाइन स्थापना गरेको थियो । त्यसमा गुजरा, वृन्दावन र गढीमाई नगरपालिकाले समेत बजेट सहयोग गरेका छन् । त्यस्तै ४२ बेडको आइसोलेसन निर्माणमा पनि चारवटै नगरपालिकाले झन्डै ७५ लाख रुपैयाँ सहयोग गरेका थिए । उक्त रकम सबै खर्च हुन सकेको छैन ।

उपसचिव सिग्देलले शिक्षकबाट उठाइएको रकम विपत् व्यवस्थापनको खातामा जम्मा भएको र अहिलेसम्म खर्च नभएको बताए । उनले यसबारे लेखा अधिकृत कीर्ति सुवेदीसित जानकारी लिन अनुरोध गरे । अधिकृत सुवेदीले पनि उक्त रकम कोरोना उपचार कोषमा जम्मा हुन नसकेको जनाएका छन् ।

प्रकाशित : कार्तिक ५, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

वनराजालाई दसैं भोकै बित्ने चिन्ता

बितेका वर्षका दसैं १० हजार रुपैयाँमा हाँसीखुसी बितेको उनी सम्झन्छन् । अहिले त्यसरी मनाउन ३० हजारभन्दा बढी लाग्ने हिसाब आउँछ ।
मनोज पौडेल

कपिलवस्तु — घरअगाडि फट्यांग्रा समात्दै थैलामा राख्दै थिए । मंगलबार मध्याह्न उनले तिनै फट्यांग्रा बल्छीमा चारो लगाएर माछा मार्न जाने उनले सुनाए । आफूलाई राजा भनिदिँदा खुसी मान्ने वाणगंगा नगरपालिका–६ सुठौली भाठाका उनको नाम हो– गुन्जबहादुर शाही (कुसुन्डा) । उनी आफूलाई राजा भन्न रुचाएर के गर्नु, साँझ बिहान पेटभरि खान पाउनै ठूलो संघर्ष गर्नुपर्छ । घरको अवस्था उस्तै बिजोग छ ।

कुसुन्डा लोपोन्मुख घुमन्ते जाति हो । साबिक लुम्बिनी अञ्चलका एक्ला कुसुन्डा ६८ वर्षीय गुन्जबहादुरलाई दसैं सजिलो छैन । तीन वर्षभन्दा बढी संघर्ष गरेर जिल्ला प्रशासनबाट लोपोन्मुख जाति भएको प्रमाणपत्र बनाए तर त्यो कुनै काम नलागेको उनी बताउँछन् ।

विपन्नताका कारण दसैं दशा बनेको उनी गुनासो गर्छन् । ७ जनाको उनको परिवार छ तर दसैंमा छोराछोरी, दिदी र आफन्त आउने खबर गरिसकेका छन् । ‘परिवार भेला हुँदा १६/१७ जनासम्म पुग्छौं,’ उनले भने, ‘दसैं कसरी मनाउने भन्ने चिन्तामा छु ।’ आफू बिरामी छन् । श्रीमतीले ज्यालामजदुरी नगरे साँझबिहानको चुलो बल्दैन । दसैंमा २०/२२ हजारको खर्च छ । अहिलेसम्म एकसरो कपडा हालेका छैनन् । लोपोन्मुख जाति भएकाले सरकारले २ हजार रुपैयाँ भत्ता दिँदै आएको थियो । साउनयता उक्त भत्ता नपाएको उनले बताए ।

गुन्जबहादुर शाही घर अघि धनुवाँण चलाउने अभ्यास गर्दै । ऐन कानुन कडा हुँदा उनी वनमा पस्नै गाह्राे भएपछि घरमै धनुवाँण चलाएर रमाइलो गर्छन् । तस्बिरहरू : मनाेज पाेडेल/कान्तिपुर

जीवजन्तु मारेर खाने आफ्नो पुर्ख्यौली परम्परा रहेकाले अरू जाति जसरी पेसा गरेर खान सिक्नै समय लागेको गुन्जबहादुरकी श्रीमती यमकलाले बताइन् । अहिले जथाभाबी सिकार गर्न पाइँदैन तर उनीहरूको मन मान्दैन । धनु र वाण छ तर ऐनकानुन कडा हुँदा वनमा पस्न गाह्रो भएको उनले सुनाइन् । ‘दसैंमा मासु खानै पर्‍यो,’ उनले भनिन्, ‘छोरीज्वाइँ आउँछन् ।’ वनमा सिकार गर्न नपाएपछि समस्या परेको उनले गुनासो गरिन् । यसपटक गुन्जबहादुर र यमकलालले दसैंका लागि भनेर आफूलाई लुगा कपडा नकिन्ने भएका छन् । ‘नातिनातिनालाई एकसरो किनिदिन मन छ, पैसो छैन,’ निन्याउरो अनुहार लगाउँदै गुन्जबहादुरले सुनाए ।

बितेका वर्षका दसैं १० हजार रुपैयाँमा हाँसीखुसी बितेको उनी सम्झन्छन् । अहिले त्यसरी मनाउन ३० हजारभन्दा बढी लाग्ने हिसाब आउँछ । ‘सितन र रक्सी नभई दसैं मानिँदैन,’ उनले भने, ‘त्यही झन् महँगो छ ।’

गुन्जबहादुर शाही परिवारसँग

ऐलानी जमिनमा बसोबास छ । चन्दा सहयोग उठाएर जेनतेन घर बनाए तर झ्याल र ढोका राख्न सकेका छैनन् । सुत्ने खाट भाँचिएका छन् । लत्ताकपडा फाटेर बेहाल छन् । ‘साँझ हातमुख जोरे बिहानको चिन्ता हुन्छ । दसैं दशा लिएर आएको जस्तो लाग्छ,’ यमकला भन्छिन् । ०३० सालमा यहाँ आएका गुन्जबहादुरले चार वर्षअघि बल्लतल्ल घर बनाउन सकेका हुन् ।

प्रकाशित : कार्तिक ५, २०७७ १२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×