२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बलात्कार र दलितमाथिको दमन रोक्न प्रहरीको सक्रियता आवश्यक : मुख्यमन्त्री राउत

सन्तोष सिंह

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् । प्रदेश २ मा बलात्कारसहित अन्य आपराधिक घटना मौलाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रहरीले अपराधीको मानसिकता नै परिवर्तन गर्ने समय आएको बताए । 

बलात्कार र दलितमाथिको दमन रोक्न प्रहरीको सक्रियता आवश्यक : मुख्यमन्त्री राउत

‘अपराध गर्नेको मनोबल बढेकोले अपराध गर्नेलाई कसरी दण्ड दिने तर्फ प्रहरी लाग्ने समय आएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘ बलात्कार र दलितमाथि हिंसा बढेकोले अपराध न्यूनीकरण गर्न रणनीति बनाएर प्रहरीलाई अगाडि बढ्न प्रदेश सरकारले समन्वय गर्ने छ ।’

प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६५औं नेपाल प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले ‘प्रहरी मेरो साथी’को नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी नागरिकमैत्री हुनु पर्ने बताए । मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरी जनतासँगको सुमधुर सम्बन्ध कायम गरे मात्र ‘प्रहरी मेरो साथी’ भन्ने नारा यथार्थमा रुपान्तरण हुने राउतले बताए ।

‘प्रदेश २ का जिल्लाहरु भारतीय सीमासँग जोडिएकोले अपराधसँगै तस्करीको समस्या छ,’ राउतले भने, ‘सिमानामा प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । प्रहरीले तस्करीको नाममा समान्य व्यक्तिलाई समेत दु:ख दिएको छ ।’ तस्कर र बिचौलियालाई कारबाही गरी सामान्य नागरिकलाई सहुलियत दिएर सिमानामा प्रहरीको भूमिका परिवर्तन गनुपर्ने राउतले बताए ।

स्रोतसाधनको अभावमा पनि जनताको जी धनको सुरक्षामा अहोरात्र खटिँदै आएको प्रहरीको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले अपराधका प्रकृतिहरु फरक हुँदै गएको अवस्थामा अपराध नियन्त्रण गर्न प्रहरीलाई अत्याधुनिक स्रोतसाधनसम्पन्न बनाउन प्रदेश सरकार तयार रहेको बताए । ‘सबै ठाउँमा प्रहरी पुग्नै पर्ने तर सवारी अभाव छ,’ राउतले भने, ‘प्रहरी बस्ने घर र कार्यालयहरु अझै भत्केको अवस्थामा छ । प्रहरी बस्ने ठाउँ नै छैन । संरचना भत्किएको छ ।’ मुख्यमन्त्री राउतले भौतिक संरचना अभाव रहेको प्रहरीलाई प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत, अमर तथा सहिद प्रहरीका परिवारजन, नेपाल प्रहरीलाई सहयोग गर्ने संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?