१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दलित मृत्यु घटना छानबिन गर्न संसदीय समिति बनाउन माग

सन्तोष सिंह

धनुषा — कांग्रेसका सांसदले सर्लाहीमा कुटपिट गरी दलितको हत्या भएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । 

दलित मृत्यु घटना छानबिन गर्न संसदीय समिति बनाउन माग

प्रदेशसभाको बिहीबारको बैठकमा कांग्रेसले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि मृत्युको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।

प्रदेशसभा बैठक सुरु हुनसाथ विशेष समय लिएर कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले निर्घात कुटपिटबाट दलितको मृत्यु भएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता नगरेको भन्दै न्यायिक समिति गठन गर्न संग माग गरे । मृतकको परिवार तथा आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकले जाहेरी लिन नमानेको उनले बताए ।

पीडितलाई न्यायका लागि कांग्रेसले दबाबमुलक विरोध कार्यक्रम गर्दा बल प्रयोग गरी प्रतिनिधिसभा र प्रदेश सभाका सांसदलाई दुर्व्यवहार गरिएको उनले आरोप लगाए । प्रदेश सभा बैठकमा कांग्रेस सांसद कुशवाहाले केपी ‌ओलीको सरकारले प्रदेश २ मा चरम आतंक सिर्जना गर्न खोजेको आरोप लगाए ।

असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइते भएका थिए । उनको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा असोज २२ गते मृत्यु भएको थियो । मृतक परिवारले रामलाई सहिद घोषणा, क्षतिपूर्ती तथा दोषीलाई कारबाहीको माग गर्दै आएको छ ।

प्रहरीले दोषीलाई जोगाउन खोजेको र निष्पक्ष छानबिन नभएको भन्दै कांग्रेस कार्यकर्ताले बुधबार मलंगवामा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।

प्रकाशित : आश्विन २९, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?