दलित मृत्यु घटना छानबिन गर्न संसदीय समिति बनाउन माग
धनुषा — कांग्रेसका सांसदले सर्लाहीमा कुटपिट गरी दलितको हत्या भएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।
प्रदेशसभाको बिहीबारको बैठकमा कांग्रेसले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि मृत्युको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।
प्रदेशसभा बैठक सुरु हुनसाथ विशेष समय लिएर कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले निर्घात कुटपिटबाट दलितको मृत्यु भएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता नगरेको भन्दै न्यायिक समिति गठन गर्न संग माग गरे । मृतकको परिवार तथा आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकले जाहेरी लिन नमानेको उनले बताए ।
पीडितलाई न्यायका लागि कांग्रेसले दबाबमुलक विरोध कार्यक्रम गर्दा बल प्रयोग गरी प्रतिनिधिसभा र प्रदेश सभाका सांसदलाई दुर्व्यवहार गरिएको उनले आरोप लगाए । प्रदेश सभा बैठकमा कांग्रेस सांसद कुशवाहाले केपी ओलीको सरकारले प्रदेश २ मा चरम आतंक सिर्जना गर्न खोजेको आरोप लगाए ।
असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइते भएका थिए । उनको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा असोज २२ गते मृत्यु भएको थियो । मृतक परिवारले रामलाई सहिद घोषणा, क्षतिपूर्ती तथा दोषीलाई कारबाहीको माग गर्दै आएको छ ।
प्रहरीले दोषीलाई जोगाउन खोजेको र निष्पक्ष छानबिन नभएको भन्दै कांग्रेस कार्यकर्ताले बुधबार मलंगवामा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।
प्रकाशित : आश्विन २९, २०७७ १९:०५