कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

महिलाको शव फेला : हत्या आरोपमा १६ दिनपछि तीन जना पक्राउ

अवधेशकुमार झा

राजविराज — तिरहुत–२ मयनाकडेरीकी महिलाको शव फेला परेको १६ दिनपछि प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।  ५० वर्षीया  दायमनदेवी यादवको हत्या आरोपमा स्थानीय अजयकुमार यादव, राधे भनिने ओमप्रकाश यादव र कञ्चनरूप–११ का बमबहादुर साह पक्राउ परेका हुन् ।

गत असोज ११ मा बस्तीबाट अलि पर रहेको आफ्नै घरमा दायमनदेवीको शव भेटिएको थियो । पति बाहिर रहेका छोराबुहारी भेट्न गएपछि त्यस दिन घरमा उनी एक्लै थिइन् । देउरानीसँग ओमप्रकाशको गोप्य सम्बन्ध रहेको दायमनदेवीले थाहा पाएपछि उनको हत्या गरिएको अनुसन्धानमा खुलेको प्रदेश प्रहरीका प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए ।

असोज १० गते राति हत्या गरिएकी उनको शव घरबाहिर बलेँसीमा भेटिएको थियो । तीनै आरोपितले घटनामा संलग्नता स्विकारिसकेको एसपी प्रसाईंले जानकारी दिए । उनका अनुसार बमबहादुरले डोरीले घाँटी कसेर दायमनदेवीको हत्या गरेको र अन्य दुईले घरबाहिर निगरानी गरेको बयान दिएका छन् ।

पक्राउ परेमध्येका अजयले २० वर्षदेखि दायमनदेवीका परिवारको दुई बिघा जग्गा जोतभोग गर्दै आए पनि आम्दानी दिने गरेका थिएनन् । ओमप्रकाशको योजनामा अजयले यही कारणले साथ दिएको खुलेको प्रहरीले जनाएको छ । बमबहादुर यसअघि पनि हत्यामा जेल सजाय काटिसकेका व्यक्ति हुन् । शिक्षक रामनारायण साहको हत्या अभियोगमा पक्राउ परेका उनी आठ वर्ष जेल सजाय भुक्तान गरी दुई वर्षअघि छुटेको खुलेको छ ।

प्रकाशित : आश्विन २७, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?