भन्सार जाँच भएर निस्केको ट्रकबाट ठूलो परिमाणमा लागू औषध बरामद- प्रदेश २ - कान्तिपुर समाचार

भन्सार जाँच भएर निस्केको ट्रकबाट ठूलो परिमाणमा लागू औषध बरामद

भूषण यादव

वीरगन्ज — वीरगन्जको अलौस्थित एकीकृत भन्सार चौकी (आईसीपी)बाट जाँचपास भएर निस्केको भारतीय ट्रकबाट पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटिएको टोलीले शनिबार राति करिब १० वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोक स्थित रामगढवा सडक खण्डमा आईसीपीबाट आएको एचआर ३८ भी ४८९५ नम्बरको ट्रकबाट फेनारगन, नुर्फिन, डाइजोपाम र विनसाइरेक्स बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार आईसीपीबाट जाँचपास भइ आएको उक्त ट्रकको चालक बस्ने सिटको पछाडि, सिटमुनी र क्याबिन माथिको बोर्नटमा लुकाएर राखिएको अवस्थामा लागू औषध नुर्फिन २९७ एम्पुल इन्जेक्शन, फेनारगन २९७ थान, डाइजोपाम २९७ थान गरी कूल ८ सय ९१ एम्पुल इन्जेक्सन बरामद भएको हो । ‘एक/एक थान नुर्फिन, फेनारगन र डाइजोपाम मिलाएर एक सेट हुन्छ,’ डीएसपी कुँवरले भने, ‘४ बोरा, एक कार्टुन र एउटा झोलामा राखेर क्याबिनमा लुकाएका थिए ।’

एक हजार दुई सय ६ बोतल एक सय एमएलको विनसाइरेक्स समेत बरामद भएको उनले जनाए । सीमावर्ती विहारको रक्सौल हर्दिया–४ निवासी २० वर्षीय ट्रक चालक विक्रान्त पटेल, ट्रकमा सवार रामबालक राम, आकाश राम समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान थालिएको डीएसपी कुँवरले जनाए । ‘कसले पठायो, कहाँ लैजान लागेको यो अनुसन्धानको विषय हो,’ डीएसपी कुँवरले भने, ‘केही नामहरु आएका छन्, हामीले अनुसन्धान थालेका छौं ।’

प्रकाशित : आश्विन २५, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्

१३१ किलो गाँजासहित एक जना पक्राउ

भूषण यादव

वीरगन्ज — पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरिया टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले एक जना गाँजा कारोबारीलाई पनि पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार राति साढे १२ बजे देउरिया टोल निवासी ४० वर्षीय राज ओझैयाको घरमा खनतलासी गर्दा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले जनाए । घरमा गाँजा लुकाएर राखेका औझैयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको कुँवरले बताए ।

यसैगरी प्रहरीले मंगलबार राति साढे १० बजे पर्साको कालिकामाई गाउँपालिका– १ तीनडुविया निवासी २९ वर्षीय खोवारी प्रसादको घरबाट ८ किलो लागूऔषध अफिम बरामद गरेको थियो

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले अफिमसहित खोवारीलाई नियन्त्रणमा लिएको डीएसपी मनोजित कुँवरले जनाए ।

प्रकाशित : आश्विन २२, २०७७ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×