भन्सार जाँच भएर निस्केको ट्रकबाट ठूलो परिमाणमा लागू औषध बरामद
वीरगन्ज — वीरगन्जको अलौस्थित एकीकृत भन्सार चौकी (आईसीपी)बाट जाँचपास भएर निस्केको भारतीय ट्रकबाट पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटिएको टोलीले शनिबार राति करिब १० वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोक स्थित रामगढवा सडक खण्डमा आईसीपीबाट आएको एचआर ३८ भी ४८९५ नम्बरको ट्रकबाट फेनारगन, नुर्फिन, डाइजोपाम र विनसाइरेक्स बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार आईसीपीबाट जाँचपास भइ आएको उक्त ट्रकको चालक बस्ने सिटको पछाडि, सिटमुनी र क्याबिन माथिको बोर्नटमा लुकाएर राखिएको अवस्थामा लागू औषध नुर्फिन २९७ एम्पुल इन्जेक्शन, फेनारगन २९७ थान, डाइजोपाम २९७ थान गरी कूल ८ सय ९१ एम्पुल इन्जेक्सन बरामद भएको हो । ‘एक/एक थान नुर्फिन, फेनारगन र डाइजोपाम मिलाएर एक सेट हुन्छ,’ डीएसपी कुँवरले भने, ‘४ बोरा, एक कार्टुन र एउटा झोलामा राखेर क्याबिनमा लुकाएका थिए ।’
एक हजार दुई सय ६ बोतल एक सय एमएलको विनसाइरेक्स समेत बरामद भएको उनले जनाए । सीमावर्ती विहारको रक्सौल हर्दिया–४ निवासी २० वर्षीय ट्रक चालक विक्रान्त पटेल, ट्रकमा सवार रामबालक राम, आकाश राम समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान थालिएको डीएसपी कुँवरले जनाए । ‘कसले पठायो, कहाँ लैजान लागेको यो अनुसन्धानको विषय हो,’ डीएसपी कुँवरले भने, ‘केही नामहरु आएका छन्, हामीले अनुसन्धान थालेका छौं ।’
प्रकाशित : आश्विन २५, २०७७ १५:३९