न्याय माग्दै आमरण अनशन

वडाध्यक्षबाट कुटिएको भन्दै ममतादेवी यादव न्याय माग्दै लहानस्थित सहिद चोकस्थित मुख्यद्वारमा आमरण अनशन बसेकी छिन् ।
भरत जर्घामगर

सिरहा — वडाध्यक्षबाट कुटिएको भन्दै एक महिला न्याय माग्दै लहानस्थित सहिद चोकस्थित मुख्यद्वारमा धर्नापछि आमरण अनशनमा बसेकी छिन् । लहान नगरपालिका–१३ भोटिया टोलकी ममतादेवी यादव मंगलबारदेखि लहानस्थित सहिद चोकमा धर्नापछि आमरण अनशन सुरु गरेकी हुन् ।

न्याय माग्दै आमरण अनशन

उनी गत १६ गतेदेखि आफूमाथि कुटपिट गरेकाहरुलाई कारबाहीको माग गर्दै धर्ना बस्दै आएकी छिन् ।

सुखीपुर नगरपालिका–४ का वडाध्यक्ष रामलोभित यादवसहित उनका आफन्त र मान्छेहरुले आफूमाथि कुटपिट गरेको र हालसम्म आफूले क्षतिपूर्ति नपाएको उनको आरोप छ । भोटिया टोलमै घर बनाएर बस्दै आएका वडाध्यक्ष यादवले गत असार ७ गते ममतालाई कुटपिट गरेका थिए ।

अरुसँग किन बोलेको र आफूले भनेबमोजिम नहिँडेको भन्दै वडाध्यक्ष यादवले कुटपिट गरेको ममताले बताइन् । ‘उहाँको कसैसँग मनमुटाव छ भने म पनि किन मनमुटाव गर्नु ?’ ममताले भनिन्, ‘वडाध्यक्षले भनेबमोजिम नहिँडेकै कारण मलाई वडाध्यक्षसहित परिवारका सदस्यहरुले पनि पिटे ।’

घटना भएको साढे तीन महिना बितिसक्दा पनि आफूले न्याय नपाएको भन्दै संघर्षमा उत्रिन बाध्य हुनुपरेको उनले सुनाइन् । आफूमाथि कुटपिट पनि भएको, उपचार पनि आफैले गराउनु परेको र आफूलाई कुट्नेहरुलाई कारबाही पनि नभएको तथा धर्ना बस्दा पनि कतैबाट वास्ता नभएपछि भोक हड्तालमा बसेको उनको भनाइ छ ।

कुटपिटबाट कम्मरको हड्डीसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको उनले बताइन् । पीडित ममताको उपचार लहानमा सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गरिएको थियो ।

उपचारका क्रममा एक लाख रुपैयाँभन्दा बढी खर्च भए पनि वडाध्यक्ष यादवले हालसम्म कुनै क्षतिपूर्ति नदिएको पीडित महिलाको आरोप छ । तर, वडाध्यक्ष यादव भने आरोपलाई आफूले कुटपिट नगरेको दाबी गर्छन् । यो घटनामा आफ्नो संलग्नता नरहेको र षड्यन्त्रपूर्वक आफूलाई बदनाम गर्न खोजिएको उनको दाबी छ ।

अर्कोतर्फ, वडाध्यक्ष यादव र सुखीपुरका मेयर रामऔतार यादव पनि उपचार खर्चबापत ६० हजार रुपैयाँ दिएको दाबी गर्छन् । मेयर यादव वडाध्यक्षको बचाउमा लागेको ममताको आरोप छ । ममता भने आफूलाई कसैले पैसा नदिएको बताउँछिन् ।

पीडित महिलाले आफूमाथि कुटपिट गरेको भन्दै वडाध्यक्ष यादवसहित पाँच जनाविरुद्ध उजुरी पनि दर्ता गराएकी छन् ।

पीडितको उजुरीपछि गत असोज ११ गते आरोपितमध्येका नवीन यादव प्रहरीको नियन्त्रणमा छन भने वडाध्यक्षसहित अन्य फरार छन् । जसको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । भारतसँग खुल्ला सीमा नाकाका कारण पारिपट्टि गएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले कोरोना महामारीबीच पनि भारतबाट पनि पक्राउ गर्ने संयन्त्रहरु प्रयोग गरेको जनाइएको छ ।

यस घटनाका आरोपितमध्येका एक जना आरोपितलाई पक्राउ गरिए पनि बाँकी फरार रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) शरद थापा क्षेत्रीले बताए । उनीहरुको खोजीकार्य तीव्र रुपमा भइरहेको उनको भनाइ छ ।

घटनामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढिसकेको उनले बताए । ‘जोकोही होस्, अपराध गर्नेलाई कुनै किसिमको सहुलियत हुँदैन,’ उनले भने ‘अपराधीलाई कारबाही गर्न कसैको सिफारिस र पीडितले दुःख गर्नु आवश्यक छैन ।’ प्रहरी सुक्ष्म रुपले अनुसन्धान गरी न्याय दिलाउने पक्षमा लागेको उनले बताए ।

प्रकाशित : आश्विन २१, २०७७ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?