कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लहानका स्वास्थ्य चौकीहरूमा औषधि अभाव

भरत जर्घामगर

सिरहा — कोरोना महामारी झन् लम्बिँदै जाँदा लहान नगरपालिकाका स्वास्थ्य चौकीहरूमा सिटामोल र जीवनजलसमेत पाइन छाडेको छ । गर्भवतीले नियमित सेवन गर्नुपर्ने आइरन चक्कीसमेत एक महिनायता सेवाग्राहीका हातमा पर्न सकेको छैन । 

लहानका स्वास्थ्य चौकीहरूमा औषधि अभाव

‘दैनिक चार दर्जनसम्म बिरामी आउँछन्,’ वडा नं १८ भदैयाको विसनपुरस्थित स्वास्थ्य चौकीकी अनमी ललिताकुमारी चौधरी भन्छिन्, ‘जाँचपछि औषधि दिन नसक्दा गाली खानुपरिरहेको छ ।’ उनका अनुसार नगरपालिकाको स्वास्थ्य शाखाबाट खोजेर ल्याएको आठ पत्ता सिटामोलसमेत सकिइसकेको छ । स्वास्थ्य चौकीका प्रमुख प्रमोदकुमार दास औषधि नभएपछि बिरामी मर्कामा परेको बताउँछन् ।

लहान नगरपालिका–१५ स्थित स्वास्थ्य चौकीका चौकीका इन्चार्ज सिनियर अहेव रामसुन्दर चौधरी पनि दैनिक ६०–७० जनासम्म बिरामी आउने गरेकामा अत्यावश्यक सिटामोल र जीवनजलसमेत उपलब्ध गराउन नसकेको गुनासो गर्छन् । २४ वडा रहेको लहानमा १२ वटा स्वास्थ्य चौकी र एउटा सहरी स्वास्थ्य क्लिनिक छन् । ती सबैमा एक महिनादेखि औषधि अभाव छ । सरकारले स्वास्थ्य चौकीमा ५९ प्रकारका औषधि निःशुल्क वितरण हुने घोषणा गरको छ ।

‘स्वास्थ्य चौकीमा सामान्य चोटपटक लागेका बिरामीको मलमपट्टी गर्ने काम मात्र भएको छ,’ लहान–१८ का स्वास्थ्य चौकी प्रमुख दास भन्छन्, ‘कहिलेकाहीँ मलमपट्टी गर्ने सामानको अभावसमेत झेल्दै आएका छौं ।’ उनका अनुसार स्वास्थ्य चौकीमा ३६ देखि ५८ खालको औषधि आउनुपर्नेमा २०–२२ खालको मात्र आइरहेको थियो । त्यही पनि पछिल्लो समय नगरपालिकाले नियमित आपूर्ति गरिरहेको छैन । ‘जति औषधि आउँछ, त्यति न बाँड्ने हो,’ उनले भने, ‘मागेअनुसार नगरपालिकाको स्वास्थ्य शाखाबाट नै आउँदैन, के बाँड्नु ?’ आँखामा लगाउने, घाउ खटिरामा लगाउने मलम पनि नआएकाले सामान्य जाँच गरेर पठाउने गरेको उनले बताए । लकडाउनमा नियमित खोप सेवासमेत प्रभावित भएको जनाउँदै दासले परिवार नियोजनका अस्थायी साधन डिपो, पिल्सको पनि अभाव रहेको बताए ।

नगरपालिकामै थन्कियो

बिरामीहरू स्वास्थ्यचौकीबाट रित्तो हात फर्किरहँदा लहान नगरपालिका कार्यालयको गोदाममा अढाई महिनादेखि औषधि थन्किरहेको छ । नगरपालिकाले औषधि खरिदका लागि ३५ लाख रुपैयाँ बजेटसहित गत जेठ २२ मा बोलपत्र आह्वान गर्‍यो । जसमा २२ कम्पनीले बोलपत्र फारम भरेकोमा भक्तपुरस्थित जनप्रिया मेडिसिन सप्लायर्सले खरिद ठेक्का पायो । जनप्रियाले ३५ लाखको ठेक्का १५ लाख ३८ हजार ३७ रुपैयाँमा सकार गर्‍यो । ठेक्का स्वीकृत भएपछि जनप्रियाले असार २५ गते तोकिएको औषधि नगरपालिकालाई बुझायो । तर नगरपालिकाको स्वास्थ्य शाखाले उक्त औषधि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको भन्दै वितरण गर्न इन्कार गरिदियो ।


लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको स्विकारे । उनले टेन्डर प्रक्रियाबाट खरिद गरिएको औषधि विश्व स्वास्थ्य संगठनको जीएमपी मापदण्डअनुसार नभएकाले वितरण नगरिएको बताए । यस आर्थिक वर्षको औषधि खरिदका लागि प्रक्रिया अगाडि बढाइएको यादवले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले भने नगरपालिकाको स्वास्थ्य शाखाको कमजोरीका कारण औषधि अभाव हुन गएको बताए । ‘अघिल्लो आर्थिक वर्षमा टेन्डरमार्फत खरिद गरिए पनि केही औषधिको मापदण्ड नपुगेको भन्ने आयो, त्यस कारण औषधि वितरण हुन नसक्दा औषधि अभाव भएको हो,’ उनले भने, ‘स्वास्थ्य शाखालाई तत्काल अभाव पूर्ति गर्नका लागि औषधि खरिद प्रक्रिया अगाडि बढाउन भनेको छु, दुई–चार दिनमा यो समस्या समाधान हुन्छ ।’

प्रकाशित : आश्विन १८, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?