रौतहटमा महिलाको हत्या, पति गम्भीर घाइते- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा महिलाको हत्या, पति गम्भीर घाइते

शिव पुरी

रौतहट — रौतहटको देबाही–गोनाही नगरपालिका–५ टिकुलियामा शुक्रबार बेलुकी एक दम्पतीमाथि आक्रमण हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते छन् । स्थानीय जगरनिया देवीको हत्या भएको हो ।

बेलुकी १० बजेतिर खाना खाएर गफ गरिरहेका ४५ वर्षीय महेश तिवारी र पत्नी जगरनियादेवीलाई छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले धारिलो हतियारले प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उनीहरूबीच पुरानो रिसइबी थियो । घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सोनियालाल र प्रदीप भने फरार छन् ।

पतिपत्नी दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि वीरगन्ज लगिएकामा पत्नीको मृत्यु भएको इलाका प्रहरी देवाहीका प्रहरी निरीक्षक मेदानी साहले बताए । उनका अनुसार महेशको गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको छ । मुखिया बाबुछोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीका विभिन्न स्थानमा बाढी पस्दा बस्तीमा क्षति

बाढीले बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगायो
सन्जु पौडेल, अमृता अनमोल

तिलोत्तमा — अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न स्थान डुबानमा परेका छन् । तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा आएको बाढी, नदी कटान र डुबानले समस्या परेको छ । मध्यरातमै नगरप्रमुखसहित अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी, टोल समितिका पदाधिकारी लगायतले तिलोत्तमा–११ को भुपु सैनिक ग्रुप –५ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

रोहिणी नदी बस्तीतिर पसेपछि ग्रुप–५ पूर्वतिरका ४०/४५ घर डुबानमा परेका थिए । पानी रोकिएर सतह घटेपछि अहिले बस्ती सुरक्षित रहेपनि पुन: वर्षा भए बस्ती जोखिममा पर्ने नगरप्रमुख वासुदेव घिमिरेले बताए । यसबारे आफूले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायमा जानकारी गराएको घिमिरेले बताए ।

त्यस्तै वडा नम्बर १० मा बाढीका कारण असुरक्षित बनेका ६ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । तिलोत्तमाको मौवाबारीमा सुकौरा खोलामा आएको बाढीले ३ वटा कच्ची घर बगाएको छ । तिलोत्तमा–९ का धनबहादुर सार्की, रघुवीर दमाई तथा नेमबहादुर रुचालको कच्ची घर बगाएको छ । तिलोत्तमा–८ को सत्कुलो नहरको पानीको बहाब बढेर घर भत्काएको प्रहरीले जनाएको छ ।

यता बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा पनि सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर र केही बाख्राको खोर बगाएको स्थानीयबासीले बताएका छन् ।

चरंगे खोलामा आएको बाढीले देवदह–१० का रामबहादुर श्रेष्ठको एक तले घरसहित दुईवटा बाख्रा र कुखुराहरु लगायत बगाएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको मायादेवी गाउँपालिकाको वनगाई, मकरी, गौरट्टी, बेथरीलगायतका गाउँमा बाढी पस्दा अधिकांश क्षेत्र डुबानमा परेको स्थानीयले बताए ।

बाढीले बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगायो

तिनाउ नदीले बुटवल ११ मा कटान गर्दै । तस्बिरहरू : अमृता अनमोल /कान्तिपुर

भारी वर्षासँगै शुक्रबार राति आएको बाढीले अहिलेसम्म रुपन्देहीका २८ घर बगाएको छ । ६ जना घाइते भएका छन् । एक सय बढी घर डुबानमा परेका छन् । दर्जनाैं घरपरिवार विस्थापित भएको प्रहरीको प्रारम्भीक तथ्यांक छ ।

बाढीले बुटवल–११ बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगाएको छ । यसले मझुवाका एक सय घरसँगको सडक सम्बन्ध विच्छेद गराएको वडाअध्यक्ष रामचन्द्र खनालले बताए । बाढीको बेगले पक्कीपुलसमेत जोखिममा छ ।

बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने काम भइरहेको उनले बताए । तिनाउ, दानव, रोहिणी नदी र सुखौरा खोलाले बुटवल, तिलोत्तमा, देवदह, ओमसतिया, सम्मरीमाई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका दर्जनाैं घर डुबानमा परेका छन् । डुबानको क्षति संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

प्रकाशित : आश्विन १०, २०७७ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×