बलात्कृत किशोरीलाई प्रलोभन र धम्की दिनेलाई पक्राउ गर्न प्रहरी खटाइयो- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कृत किशोरीलाई प्रलोभन र धम्की दिनेलाई पक्राउ गर्न प्रहरी खटाइयो

सन्तोष सिंह

धनुषा — बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिएको आरोप लागेकालाई पक्राउ गर्न प्रहरी खटाइएको छ । पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिनेलाई पक्राउ गर्न प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

धनुषा, सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका–२ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुवा सत्यनरायण यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारबाही प्रक्रिया अगाडि नबढाउन धम्की दिँदै आएका छन् । गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुवा र आमालाई पैसा लिएर घटना मिलाउन दबाब दिने यादवलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी खटाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४/१५ जना युवाले घेराउ गरेर किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न ८ जनालाई जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दा चलाएको छ ।

यो पनि

प्रकाशित : आश्विन ९, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुर महानगरका मेयरलाई कोरोना 

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ  । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।

बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।

‘जिउ कटकटी दुख्ने, टाउको दुख्ने समस्या भएपछि स्वाब दिएको थिएँ, रिपोर्ट पोजेटिभ आयो,’महर्जनले भने,‘मेरो सम्पर्कमा रहनु भएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गर्दछु ।’

सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । मेयर शाक्यलाई भदौ १५ गते कोरोना पुष्टि भएको थियो भने भदौ २८ गते उनी कोरोनामुक्त भएका थिए ।

प्रकाशित : आश्विन ९, २०७७ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×