कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेयर-उपमेयर विवादले रौतहटका चार पालिकाको परिषद्‌ हुन सकेन

शिव पुरी

रौतहट — मेयर र उपमेयरबीचको विवादले यहाँका देबाही गोनाही, राजदेबी, कटहरिया र फतुवा बिजयपुर नगरपालिकाको परिषद् अझै हुन सकेको छैन । परिषद् ढिला हुँदा नगरपालिकाको आगामी वर्षको विकास निर्माणका योजनाहरु प्रभावित हुने देखिएको छ । यी नगरपालीकाहरुले चालू आर्थिक वर्षमा गरिने विकास निर्माणको कामको योजना तर्जुमा गर्न सकेको छैन ।

देबाही गोनाहीका मेयर धर्वेन्द्रप्रसाद पटेल र उपमेयर पनरिया देवी बीचको विवादले अहिलेसम्म परिषद् हुने छाँटकाँट देखिएको छैन् । अघिल्लो वर्ष ढिला गरी परिषद् भएको थियो । मेयर पटेलले उपमेयर पनरिया देवीले विभिन्न बाहनाबाजी गरेकोले परिषद् प्रभावित भएको आरोप लगाए । ‘समयमा परिषद् गरौं भनेर कयौं पटक भनिसकेँ । नगरको विकास प्रभावित हुन्छ भनेर सम्झाईसके,’ उनले भने,‘कहिले गत वर्षको खर्च हेर्छु अनिमात्र परिषद्को तयारी गरौं भन्नुहुन्छ । कहिले के भनेर बाहना निकाल्नु हुन्छ ।’ उपमेयर पनरिया देवीले अघिल्लो वर्षको हिसावकिताब हेरेर मात्र परिषद् गरौं भन्ने आफ्नो मान्यता रहेको सुनाए ।

स्थानीय सरकार संचालन ऐनमा आर्थिक वर्षको असार १० गते सबै स्थानीय तहको परिषद् सम्पन्न गर्नु पर्ने उल्लेख छ । १५ गते परिषद्‌मा प्रस्तुत बजेट बहुमत सदस्यबाट पारित गर्नुपर्ने प्रावधान छ । जिल्लाको १८ स्थानीय तहमध्ये केहीले मात्र समयमा परिषद् गरे । अधिकांशमा आन्तरिक विवाद चुलिएकाले परिषद् ढिला गरेका छन् । संघीय मामिला मन्त्रालयले जिल्लाका सबै स्थानीय तहमा असार १० गते पेस गरिएको बजेटको विवरण माग गरिएको छ । तर परिषद् नै नभएको नगरपालिकाले विवरण दिने सक्ने अवस्था छैन ।

राजदेवी नगरपालिका मेयर धिरेन्द्रकुमार सिंह र उपमेयर अन्सु सिंह बीचको विवाद उत्कर्षमा पुगेपछि परिषद् अन्योलमा परेको छ । परिषद् हुनुअघि आन्तरिक आयको लागि राजस्व परामर्श समितिको निर्णयले चालु आर्थिक वर्षको बजेटबारे प्रतिवेदन तयार गर्नु पर्छ । समिति संयोजक उपमेयर हुन्छ । मेयर सिंहले उपमेयरलाई राजस्व परामर्श समितिबाट बजेटबारे प्रतिवेदन बुझाउन पटक पटक ताकेता गर्दा सुनवाई नभएको गुनासो पोखे ।

उपमेयर अन्सुले मेयर एकलौटी ढंगले चल्न थालेको र आफ्नो अधिकार समेत हनन हुने काम गरेकोले परिषद् प्रभावित भएको बताइन् ।

फतुवा बिजयपुरका मेयर गोपालराय यादव र उपमेयर कान्तिदेवी बीचको विवादका कारण परिषद् हुन नसकेको हो । मेयर यादवले चाँडै परिषद् हुने जनाए । यो नगरपालिकामा गएको वर्ष अन्तिम समयमा आएर परिषद् भएको थियो ।

कटहरियामा पनि उस्तै समस्या छ । मेयर सियाराम कुशवाहा र उपमेयर नुरजहा खातुनबीच विवादले परिषद् हुन सकेको छैन । विवादकै कारण परिषद् हुन नसकेको मेयर कुशवाहाले स्वीकारे । जिल्लाको अधिकांश नगरपालिकामा मेयर र उपमेयरबीच विवाद कायमै रहेको पाइएको छ । मेयरले एकलौटी गर्न खोजेको, आफ्ना हक अधिकार खोसेको जस्ता आरोप उपमेयरहरुको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?