राजविराजमा दुई दिनमा १५ जना फरार अभियुक्त पक्राउ

अवधेशकुमार झा

राजविराज — विभिन्न मुद्दामा फरार रहेकामध्ये १५ जनालाई सप्तरी प्रहरीले बुधबार र बिहीबार पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतमा रहेको मुद्दामा फैसला भइ सजाय तोकिइसकिएको भएपनि फरार रहदै आएका उनीहरुलाई जिल्लाका विभिन्न स्थानवाट नियन्त्रणमा लिइएको हो ।

राजविराजमा दुई दिनमा १५ जना फरार अभियुक्त पक्राउ

कुटपिट मुद्दामा फरार रहेका राजविराज नगरपालिका–१ का ९८ वर्षीय उतिमलाल यादव, ४५ वर्षीय शंकरकुमार यादव, ३५ वर्षीय लक्ष्मण यादव, ३० वर्षीय लक्ष्मी यादव, वडा नम्बर–९ का ४४ वर्षीय गुलावलाल दास र ६६ वर्षीय सुब्बी यादवलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । यस्तै ज्यान मार्ने उद्योग र कुटपीट मुद्दाका फरारी राजविराज–९ का ७६ वर्षीय झौली नुनिया, कुटपीट अंगभंग मुद्दाका फरारी राजविराज–९ का सुबसु साह र लिलावती साह, राजविराज–१ का लुटपीट मुद्दाका फरारी ७५ वर्षीय गोसाई यादवलाई पनि नियन्त्रणमा लिइएको छ ।

यसैगरि कुटपीट मुद्दाकै फरारीहरु राजविराज १ का शत्रुधन यादव, राजविराज–९ का जुक्ती यादव, केही सार्वजनिक अपराध मुद्दाका फरारी राजविराज–१ का बडेलाल यादव, जालसाजी मुद्दाका फरारी राजविराज–६ का झवर यादवलाई नियन्त्रणमा लिइएको नायब उपरीक्षक भारतीले बताए । अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरारीहरुलाई नियन्त्रणमा लिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक सन्तोषकुमार खडकाको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

यसैगरि लागूऔषध मुद्दामा फरार रहेका अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ का ग्वाला मेहता भनिने महेन्द्र मेहतालाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि म्याद थप भइ अनुसन्धान भइरहेको नायब उपरीक्षक भारतीले जनाए ।

हत्या आरोपी आफै हाजिर

यसैबीच सप्तरीको महदेवा गाउँपालिका–१ का ८० वर्षीय सुबी यादवलाई कर्तव्य गरि मारेको कर्तव्य ज्यान मुद्दाका आरोपी सोही स्थानका रविलाल यादव आफै प्रहरी कार्यालयमा हाजिर भएका छन् । ०७७ वैशाख २३ गते रविलालले सुब्बी यादवको हत्या गरेको आरोप छ । सोही दिनदेखि फरार रहँदै आएका रविलाल बुधबार निवेदनसहित प्रहरीमा हाजिर भएको र म्याद थप भइ अनुसन्धान भईरहेको नायव उपरिक्षक भारतीले बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?