रौतहटमा पीसीआर परीक्षण सुरु

शिव पुरी

रौतहट — रौतहटको गौर अस्पतालमा पीसीआर ल्याब स्थापना भएको छ । स्वाब परीक्षणका लागि बाहिर लैजानुपर्ने झन्झटबाट रौतहट मुक्त भएको छ ।

प्रदेश २ सरकार र रौतहटका स्थानीय तहको सहयोगमा जिल्ला अस्पताल गौरमा ल्याब स्थापना गरिएको हो ।अस्पतालले शनिबारबाट परीक्षण सुरु गरेको छ ।

प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले शुक्रबार साँझ ल्याब उद्घाटन गरेका थिए । जिल्लामा स्वाबको परीक्षण हुने भएपछि संक्रमितहरुको व्यवस्थापन गर्न सहज हुने मन्त्री साहले सुनाए । उनले पीसीआर जाँचका लागि आवश्यक पर्ने जनशक्ति प्रदेश र केन्द्र सरकारले उपलब्ध गराउने जनाए ।

ल्याब स्थापनाका लागि प्रदेश सरकारले पीसीआर मेसिन लगायतका मेसिनरी पार्टसहरु उपलब्ध गराएको छ । गौर अस्पतालले भौतिक संरचना लगायतको व्यवस्थापन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले बताए । ‘स्थानीय तहबाट प्राप्त ६५ लाख अहिले खातामै छ । त्यो रकम खर्च भएको छैन्,’उनले भने,‘ल्याबको लागि तयार गरिएको संरचनामा उक्त रकम खर्च गर्छौं । अहिले उधारोमा काम सकेका छौं ।’

डा. साहले कन्ट्याक ट्रेसिङ र आइसोलेसनमा बसेकाहरुको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको जानकारी दिए । ल्याबको आवश्यकता अनुसार ३६ देखि ७२ वटा स्वाब परीक्षण गर्ने क्षमता रहेको छ । ल्याबमा अहिले प्रदेश र जिल्लाका प्राविधिकहरु खटेका छन् ।

पीसीआर ल्याब स्थापनाका लागि जिल्लाका १८ वटै स्थानीय तहले ५ लाखका दरले सहयोग गर्ने घोषणा गरे पनि हाल सम्म १३ वटाले मात्रै रकम उपलब्ध गराएका छन् । प्रदेश २ को जनकपुर, राजविराज, वीरगन्ज र रौतहटमा पीसीआर मेसिन सञ्चालनमा छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?