२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पञ्चायतले बलात्कारको उजुरी गर्न नदिएपछि किशोरीद्वारा आत्महत्या

अवधेशकुमार झा

राजविराज — समाजिक पञ्चायतीका नाममा बलात्कारका घटना दबाउन खोज्दा सप्तरीमा एक बलात्कृत किशोरीले आत्महत्याको बाटो रोज्‍न बाध्य भएकी छिन् ।

सप्तरीको डाकनेश्वरी नगरपालिका ७ की १७ वर्षीया ती किशोरीले बलात्कृत भएपछि न्याय नपाउँदा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

गत सोमबार आफ्नो खेतमा जमेको पानी बगाउन आली काटन गर्न गएकी ती किशोरीलाई गाउँकै चारजना युवाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक सन्तोष खडकाले बताए । अर्धचेत अवस्थामा घर पुगेकी ती किशोरीले आमालाई आफू बलात्कृत भएको बताएकी थिइन् ।

किशोरीको आमाले छरछिमेकीलाई घटनाबारे सुनाउँदा गाउँमै पञ्चायती राखिएको थियो । प्रहरी निरीक्षक खडकाका अनुसार पञ्चायतीमा भेला भएका पञ्चहरुले आरोपीहरुबाट जनही २५ हजारका दरले तिराउने निष्कर्ष सुनाएका थिए । तर पीडित किशोरी र उनकी आमाले उक्त निर्णयमा असहमति राख्दै दोषी उपर कारबाहीको माग राखेका थिए । पञ्चहरुले सामाजमा बस्न सामाजिक पञ्चायती मान्नैपर्ने, घटना प्रहरीमा गए गाउँको बदनाम हुने भन्दै उनीहरुलाई दबाब दिएका थिए ।

बलात्कारपछि गाउँमा न्याय पाउन नसकेको र पञ्चहरुको दबाबले प्रहरीमा उजूरी समेत गर्न जान नसकेपछि सोही राति ती किशोरीले घरभित्रै झुण्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक खड्काले बताए ।

उनका अनुसार पञ्चायतीमा सहभागीमध्ये जयकान्त मण्डल, सत्यनारायण मण्डल र बासुदेव मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कार आरोपीहरु धर्म मण्डल, विष्णु मण्डल, रन्जित मण्डल र बबलु मण्डल फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक खडकाले जानकारी दिए ।

‘बलात्कारजस्तो जघन्य अपराधलाई पञ्चायतीबाट ढाकछोप गर्न खोजियो,’ प्रहरी निरीक्षक खड्काले भने, ‘प्रहरीसम्म सूचना नै आएन्, सूचना आउँदासम्म पीडित किशोरीले आत्महत्या गरिसकेकी थिइन् ।’ उनले घटनास्थलमा फुटेका चुराहरु भेटिएको र धानहरु मडारिएको अवस्थामा रहेको बताए ।

कोरोना महामारीको त्रास भए पनि सप्तरीका गाउँ र प्रहरी कार्यालयमा पञ्चायती हुने गरेको छ । साना विवाददेखि बलात्कारसम्मको विषय मिलाउन पञ्चायती हुँदै आएको छ । महामारीका कारण अहिले केही कम भए पनि जिल्ला प्रहरी कार्यालयसहितका प्रहरी इकाईहरुमा समूह समूहमा जिल्लाका विभिन्न गाउँबाट आएका समूहको छलफल चलिरहेको हुन्छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?