सिरहामा संक्रमित ७८ कैदीबन्दी अहेवको भरमा

भरत जर्घामगर

सिरहा — सिरहा कारागारमा मात्र यति बेला ७८ कैदीबन्दी कोरोनाबाट संक्रमित छन् । तिनमा १७ महिला र आश्रित दुई बालबालिकासमेत छन् । संक्रमण फैलन नदिन कारागार प्रशासनले आफन्त भेटघाट र आउजाउ रोक लगाएको छ । तर, यसै पनि क्षमताभन्दा चौबर कैदीबन्दी रहेको कारागारभित्रै संक्रमितहरूको व्यवस्थापन गर्न प्रशासनलाई हम्मे परेको छ । 

सिरहामा संक्रमित ७८ कैदीबन्दी अहेवको भरमा

कारागारकी निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमितहरूलाई अहिले कारागार कम्पाउन्डको अघिल्तिर बनाइएका तीनवटा कोठामा आइसोलेसन गरिएको छ । ४४ जना अट्ने कोठामा ७८ जनालाई राखिँदा संक्रमितहरू थप सकसमा छन् ।

यहाँ पहिलोपटक साउन २५ र २६ गते ल्याइएका चार जनामा कोरोना पुष्टि भएको थियो । लगत्तै उनीहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा ३० जनाको पीसीआर गर्दा तीन जनामा रिपोर्ट पोजेटिभ आयो । त्यसपछि कारागारका सबै कैदीबन्दीको पीसीआर परीक्षण गरिएकोमा १ सय जनाको नतिजा आउँदा ७८ जनामा संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

सुरुमै नयाँ कैदीबन्दीलाई क्वारेन्टाइनमा राखेर सावधानी नअपनाउँदा अहिले समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य देवकुमार यादवले बताए ।

७८ जनामा एकैसाथ कोरोना पुष्टि हुँदासमेत कारागार प्रशासनले उपचारमा हेलचेक्य्राइँ गरेको कैदीबन्दीको आरोप छ । कारागारमा एक अहेवको दरबन्दी छ । अहेव विन्देश्वर यादव २०६९ जेठ २२ मा रिटायर्ड भए । उनको स्थानमा खटाइएका लक्ष्मण मण्डल सात महिनायता हाजिर भएका छैनन् ।

अहिले कारागार प्रशासनले रिटायर्ड भएका उनै यादवलाई खटाएको छ । ‘अधिकांश कैदीबन्दीमा रुघाखोकी समस्या देखिएको छ,’ यादवले भने, ‘एक्लै खटिनुपरेको छ ।’ कैदीबन्दीको अवस्था बुझ्न जिल्लाबाट अहिलेसम्म चिकित्सक टोली नआएको उनले बताए ।

कारागारकी निमित्त प्रमुख बबिता महतोले जिल्लाबाट चिकित्सक टोली खटाउने जानकारी आए पनि अहिलेसम्म नपठाइएको बताइन् । स्वास्थ्य कार्यालयप्रमुख यादवले सुरक्षाका कारण तत्काल कारागार कम्पाउन्डभित्रकै तीनवटा कोठामा संक्रमित कैदीबन्दीको व्यवस्थापन गरी उपचारमा निगरानी गरिएको दाबी गरे । ‘सिरहा अस्पताल र चन्द्र मावि आइसोलेसनमा खटिएका चिकित्सक टोलीलाई नै आलोपालो खटाउने तयारी गरेका छौं,’ उनले भने, ‘त्यसका अलावा सिरहा नगरपालिकाले चिकित्सक, स्टाफ नर्ससहित ५ जनाको टोली खटाउने तयारी गरेको छ । टोली चाँडै खटाइनेछ ।’ सिरहा अस्पतालका डा. नागेन्द्र यादवले संक्रमित कैदीबन्दीको उपचारमा अस्पतालबाट प्राविधिक सहयोग गरिने जानकारी दिए ।


रिपोर्ट नआएका कैदीबन्दी पनि कोचाकोच

थुप्रैको पीसीआर रिपोर्ट आउन बाँकी रहे पनि कैदीबन्दी पहिलेकै जसरी कोचाकोच गरेर बस्न बाध्य छन् । १ सय ५० जना राख्न सक्ने क्षमताको कारागारमा अहिले ५ सय ९७ जना छन् । आँगनसमेत भरिने भएकाले उनीहरू बरन्डामा सुतेर रात काट्छन् । पानी पर्दा जाग्राम बस्नुपर्छ ।

‘कोचिएर बस्नुपर्ने बाध्यता छ, पालो लगाएर सुत्छौं, कोही बरण्डामा, कोही आँगनमा’, एक कैदीले भने, ‘खुट्टा हाल्ने ठाउँ छैन, पानीपर्दा रातभर सुत्न पाइँदैन ।’

कारागारभित्र पुरुषलाई १२ र महिलालाई २ गरी जम्मा १४ वटा शौचालय छन् । शौच गर्न बिहान ४ घण्टासम्म लाम लाग्नुपर्ने उनीहरूको गुनासो छ । खानेपानीको समेत समस्या छ । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख यादवले जिल्ला प्रशासनको पुरानो भवनमा कैदीबन्दीका लागि आइसोलेसन बनाउने पहल भइरहेको जानकारी दिए ।

२०२८ सालमा स्थापित कारागार भवन र चारैतिर लगाइएको पर्खाल जीर्ण भइसकेको छ । जिल्ला कारागार सिरहाको नाममा २ बिघा १ कट्ठा ६ धुर जग्गा दर्ता रहे पनि सुरक्षा दृष्टिकोणले संवेदनशील र अतिक्रमणको चपेटामा रहेको निमित्त प्रमुख महतोले बताइन् ।

प्रकाशित : भाद्र २९, २०७७ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?