१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सप्तरीमा विद्यालयको गेट खस्दा बालकको ज्यान गयो

अबधेशकुमार झा

राजविराज — सतारुढ नेकपाको वडास्तरीय कार्यक्रमका लागि खुलाइएको विद्यालयको मुलद्वार बन्द गर्ने बेलामा शरीरमाथी खस्दा एक बालकको ज्यान गएको छ ।

सप्तरीको रुपनी गाउँपालिका ४ छपकी भथौलस्थित आधारभूत विद्यालयका कार्यालय सहयोगी चन्द्रशेखर प्रमाणीका १२ वर्षीय छोरा उपेन्द्रको गेटले लागेर मृत्यु भएको वडाध्यक्ष छेदी इसरले जानकारी दिए ।

वडाध्यक्ष इसरकै नेतृत्वमा शनिबार दिउँसोदेखि विद्यालय खोलेर पार्टीको छलफल कार्यक्रम राखिएपछि थियो । साँझ छलफल कार्यक्रम सकिएपछि मुलद्वार बन्द गर्न कार्यालय सहयोगीका छोरा उपेन्द्र आएका थिए । सो क्रममा फलामको मुलद्वार उनको शरीरमाथि खस्दा गम्भीर घाइते भएको र उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको वडाध्यक्ष इसरले बताए ।

स्थानीय बासिन्दाहरुका अनुसार नेकपाको भेलामा सय जनाभन्दा बढी स्थानिय नेता, कार्यकर्ता सहभागी थिए । जिल्लाभरी नै स्थानीय प्रशासनले कोरोनाको संक्रमणका कारण निषेधाज्ञा जारी गरेको बेला वडाध्यक्षकै नेतृत्वमा विद्यालय परिसर खोलाई राजनीतिक कार्यक्रम गरिएको थियो ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले घटनालाई लापरबाहीको संज्ञा दिए । ‘निषेधाज्ञा र लकडाउन कायम रहेको बेला पार्टीको राजनैतिक कार्यक्रमका लागि विद्यालय खोलाउनु, विद्यालयका प्रधानाध्यापकलाई जानकारीसमेत नदिनु तथा गेट बन्द गर्ने बेलामा बालकको ज्यान जानु लापरबाही हो’ अध्यक्ष यादवले भने,‘दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बालकको मृत्यु भएको पुष्टि गरे । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनाबारे बुझिरहेको बताए ।

प्रकाशित : भाद्र १३, २०७७ २३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?