हिरासतमा रहेका युवाको मृत्यु प्रकरण : गरुडाका डीएसपी प्रदेश तानिए

शिव पुरी

रौतहट — घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका युवकको उपचारको क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई अनुसन्धानका लागि शनिबार प्रदेश २ प्रहरी कार्यालय जनकपुर तानेको छ ।

हिरासतमा रहेका युवाको मृत्यु प्रकरण : गरुडाका डीएसपी प्रदेश तानिए

महतोको ठाउँमा गरुडा प्रहरीमा जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई पठाइएको छ । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।

हिरासतमा यातना दिएकै कारण युवकको मृत्यु भएको भन्दै दोषी प्रहरीलाई कारबाहीको माग गर्दै गरुडामा शनिबार पनि स्थानीयले प्रदर्शन गरेका छन् ।

गएको साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । हत्याको आरोपमा पक्राउ परेका गाउँकै १९ वर्षीय विजय महराको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको थियो ।

विजयका बुवा पनिलाल महराले प्रहरीको कुटाइबाटै छोराको मृत्यु भएको दाबी गरेका छन् । ‘छोरालाई हिरासतमा कुटपिट गरेको छ । यो प्रहरीको ज्यादती हो,’ उनले भने, ‘कुटपिटको सत्यतथ्य छानबिन हुनु पर्छ । दोषी प्रहरीलाई कारबाही हुनु पर्छ ।’

विजय निर्दोष भएको र उनलाई जबरजस्ती हत्या स्वीकार गर्न प्रहरीले हिरासतमा यातना दिएको पीडितको आरोप छ । मृत्यु हुनुअघि विजयले अस्पताल शय्याबाट आफूलाई प्रहरीले यातना दिएको बताएको पीडीत परिवारले बताएको छ ।

१९ वर्षीय विजयको शरीरभरी निलडाम र घाउचोट भेटेपछि पीडित परिवारले प्रहरीको कुटपिटका कारण छोराको मृत्यु भएको दाबी गर्दै आएको छ ।

पीडितका बुवा पनिलाल महराले पनि छोराको मृत्यु प्रहरीको कुटपिटबाटै भएको बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्ः

हिरासतमा रहेका युवाको मृत्यु प्रकरण : स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

प्रकाशित : भाद्र १३, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?