३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

आफन्तले प्रहरीकै कुटाइले ज्यान गएको आरोप लगाइरहँदा प्रहरीले भने उनी किड्नीका बिरामी भएकाले त्यसैका कारण मृत्यु भएको दाबी गरेको छ ।
शिव पुरी

रौतहट — गरुडास्थित इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेका एक युवकको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । युवकका बुबाले प्रहरीको कुटाइबाट छोराको मृत्यु भएको आरोप लगाएका छन् ।

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

साउन ३१ गते राति गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । हत्याको आरोपमा भोलिपल्ट पक्राउ गरिएका गाउँकै १९ वर्षीय विजय महराको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको हो ।

‘प्रहरीको ज्यादतीले मेरो छोराको ज्यान गयो,’ बुवा पनिलाल महराले भने, ‘पक्रेको दिनदेखि छोरालाई भेट्न पाइएन । अस्पताल भर्ना गरेको खबर पाएर जाँदा पनि प्रहरीले भेट्न दिएन । छोरामा रोग थिएन । अहिले कुटेरै मार्‍यो ।’

विजयको पिसाब र दिसामा समस्या देखिएपछि गरुडास्थित अनमिका अस्पताल लगिएको प्रहरीले जनाएको छ । तर, त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले बाहिर लैजान सुझाव दिएका थिए । अनमिकाका चिकित्सक आरबीप्रसादका अनुसार विजयको दिसा–पिसाबबाट रगत बगेको पाइएको थियो । ‘हेमोग्लोबिनको मात्रा पनि कम हुँदै गएको थियो । पिसाबमा रगत जमेको पाइयो,’ उनले भने, ‘विजयलाई कतै केही समस्या छ भनेर सोधेका थियौं । उनले पिसाब गर्दा रगत बग्यो भने । त्यसै बेला उनलाई बाहिर लैजान प्रहरीलाई सुझाव दियौं ।’

तीन दिनअघि निरञ्जन राम हत्या संघर्ष समितिले पत्रकार सम्मेलन गरी विजयलाई प्रहरीले हिरासतमा कुटपिट गरी घाइते बनाएको जनाएको थियो । हत्या आरोपमा प्रहरीले विजयसहित सात जनालाई कर्तव्य ज्यान मुद्दा लगाएको छ ।

नेपाल उत्पीडित जातीय संघ रौतहटका जिल्ला अध्यक्ष नाथुराम परियारले प्रहरीको ज्यादतीले सीमा नाघेको बताए । ‘हत्यापछि जाहेरी लिएर जाँदा महिला र दलितमाथि गरुडा प्रहरीले दुर्व्यवहारसमेत गर्‍यो,’ उनले भने, ‘हिरासतमा मरणासन्न हुने गरी विजयलाई कुटेर मार्ने प्रहरीमाथि कारबाही हुनुपर्छ ।’ दलित फाउन्डेसनका अभियन्ता मनोज रामले पनि विजयलाई अपराध कबुल गराउने निहुँमा हिरासतमा तीन सुरक्षाकर्मीले बुट र लाठीले हानेर घाइते बनाएको आरोप लगाए ।

विजयको पिसाबमा समस्या आएपछि भदौ ४ गते उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज पठाइएकोमा बिहीबार बिहान मृत्यु भएको गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । उनले विजयलाई कुटपिट नगरिएको दाबी गरे । ‘पहिलेदेखि नै किड्नीको समस्या रहेछ । हिरासतमा हुँदा पिसाब फेर्न समस्या भएपछि उनलाई वीरगन्ज पठाइएको हो,’ उनले भने, ‘यहाँ कुनै किसिमको कुटपिट भएको छैन । रोगले नै मृत्यु भएको हो ।’ विजयका पत्नी र सात महिनाकी छोरी छन् ।

प्रकाशित : भाद्र ११, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?