पानी निकासको विषयमा बारामा दुई गाउँलेबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

वडा अध्यक्षसहित ९ जना गाउँले र ४ प्रहरी घाइते
लक्ष्मी साह

बारा — पानी निकासको विषय लिएर सोमबार दुई छिमेकी गाउँलेबीच झडप हुँदा वडा अध्यक्षसहित ९ जना गाउँले र ४ प्रहरी घाइते भएका छन् । आदर्श कोतवाल गाउँपालिका–६ का वडाध्यक्ष मधुसुदन जयसवालसहित प्रहरी र गाउँले घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको छ । गाउँलेले ढुंगामुढा गरेपछि ४ जना प्रहरी घाइते भएका हुन् । 

सिम्रौनगढ नगरपालिका–११ को भगवानपुर र आदर्श कोतवाल गाउँपालिका–६ को पटेर्वा गाउँलेबीच झडप भएको हो । भगवानपुरका गाउँलेहरु कुलो थुनेर माछा मारिरहँदा कुलोको पानीले पटेर्वा गाउँका धान खेत डुबानमा पर्न थालेपछि पटेर्वाका वडाध्यक्ष मधुसुदन जयसवालसहतिका गाउँलेहरु थुनिएको कुलो खुला गराउन दबाब दिन भगवानपुर पुगेका थिए । त्यही क्रममा भनाभन भएपछि झडप भएको हो । दुवै छिमेकी गाउँबीच कुलो निस्केको छ ।

‘लठीचार्जले स्थिति नियन्त्रणमा नआएपछि अश्रुग्यास प्रहार र हवाई फायर गरिएको हो,’ प्रहरी नायब उपरीक्षक मिश्रले भने, ‘वडाध्यक्षलाई भगवानपुरका गाउँलेले कुटेपछि पटेर्वाका गाउँलेको समूह पुगेर झडप गरेका हुन् ।’ पटेर्वाका गाउँलेले पटेर्वा चोकमा रहेका भगवानपुरका केही पसलसमेत तोडफोड गरेका हुन् ।

घाइतेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । झडप हुन थालेपछि सिम्रौनगढ इलाका प्रहरी कार्यालयबाट पुगेका प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन १३ राउन्ड हवाई फायर र ६ सेल अश्रुग्यास प्रहार गरेर भीड तितरबितर पारेका थिए । अहिले अवस्था समान्य छ । त्यहाँ प्रहरीको टोली सुरक्षाका लागि खटाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पुगेर स्थिति समान्य बनाएको हो ।

प्रकाशित : भाद्र १, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?