निषेधाज्ञाको मजाक उडाइँदै : कतै डान्सपार्टी त कतै मट्का फोर- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञाको मजाक उडाइँदै : कतै डान्सपार्टी त कतै मट्का फोर

अवधेशकुमार झा

राजविराज — कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासनले सप्तरी जिल्लाभरी भदौ २ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले चाडपर्व घरमै बसेर मनाउन आग्रह गरेको भए पनि त्यसविपरीत जिल्लामा नृत्य कार्यक्रम, मट्का फोर कार्यक्रम गरेर सयौंको भीड जम्मा गर्ने कार्य भइरहेको छ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा विभिन्न गाउँमा बनाइएको प्रतिमा नजिक बुधबार राति नृत्यंगनाहरूलाई ल्याएर नृत्य कार्यक्रम गरिएको छ । बिहिबार भने 'मट्का फोर' कार्यक्रमको नाममा सयौंको भिड जम्मा गरिएको छ ।

सप्तरीको तिलाठी कोईलाडी भारतीय सीमासँग जोडिएको गाउँपालिका हो । उक्त पालिका जिल्लामा कोरोनाबाट अति प्रभावित पालिकाको रूपमा देखिएको छ । तर भारतीय सीमासँग टासिएरै वडा नम्बर १ तिलाठीको स्मारक नजिक बिहिबार दिउँसो सयौंको भीड जम्मा भयो ।

कृष्णजन्माटमीको अवसरमा आयोजित मट्का फोर कार्यक्रममा सहभागी हुन र हेर्नका लागि सयौंको भीड जम्मा भएको थियो । न दुरी कायम थियो न त मास्क नै प्रयोग गरिएको थियो । मानिसको भर्याङ बनाएर अग्लो स्थानमा बाँधिएको माटोको भाडो(मट्का) फुटाउन उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

महिला र पुरुष गरी त्यहाँ सयौंको संख्यामा स्थानीय र छिमेकी गाउँका मानिसहरू थिए । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले मट्का फोर कार्यक्रमका लागि कसैलाई अनुमति नदिइएको बताए । कोरोना संक्रमणका बेला मानिस भिडभाड नगर्न आग्रह गरिए पनि कसले भिडभाड गर्यो त्यसको विषयमा बुझिरहेको बताए ।

महदेवा गाउँपालिका ६ मा एकजनाले आफ्नो घरमा श्रीकृष्ण लगायतको भगवानको प्रतिमा बनाएका थिए । ती व्यक्तिले बाहिरबाट नृत्यंगनाहरू बोलाएर बुधबार राति नृत्य कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रम नृत्य हेर्न सयौंको संख्यामा स्थानीय भेला भएका थिए । त्ययसैगरी राजगढ गाउँपालिकामा पनि बुधबार राति आयोजना गरिएको नृत्य कार्यक्रममा सयौंको संख्यामा स्थानीय भेला भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जिल्लाका विभिन्न ६ स्थानमा बुधबार राति आयोजना गरिएको नृत्य लगायतका भीडभाड हुने कार्यक्रम प्रहरी गएर रोक लगाएको बताए ।

कोरोनाको संक्रमण अत्यधिक रूपमा बढ्न थालेपछि सप्तरी प्रशासनले साउन ८ गतेदेखी राजविराज नगरपालिका क्षेत्रमा र साउन २० गतेदेखि २६ गते सम्मका लागि जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको थियो ।

संक्रमित बढ्ने क्रम नरोकिएपछि प्रसासनले जिल्लाभरी भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञाको अवधि बढाएको छ । प्रशासनले कृष्णाष्टमी लगायतका कुनैपनि धर्मको कुनैपनि चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरी आफनो घरभित्रै सुरक्षित साथ मात्र चाडपर्व मनाउनसमेत अनुरोध गरेको थियो । त्यस विपरित मानिस भिडभाड गर्ने कार्यक्रम आयोजन गर्न थालिएपछि संक्रमण बढ्न सक्ने खतरा भएको छ ।

‘यस्ता गतिविधिले संक्रमणको खतरा थप बढायो,’ जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले भने, ‘यस्तो भिडभाड हुने कार्यक्रम अहिलेको समयमा गर्नु गैर जिम्मेवारीपूर्ण कार्य हो ।’

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्दकुमार ठाकुरले जिल्ला प्रशासन कार्यालय सप्तरीद्धारा निषेधाज्ञाको पूर्ण पालना गराउन सुरक्षा निकायलाई निर्देशन दिइएको तर केही स्थानमा देखिएको भिडबारे आवश्यक जानकारी लिइने बताए ।

सप्तरी जिल्लामा कोरोनाबाट हालसम्म ६ सय १६ जना संक्रमित भइसकेका छन् भने ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण २९, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

बीआरआईमा ठोस उपलब्धि हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाइने : चीन

लक्ष्मी लम्साल

बेइजिङ — चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा ठोस उपलब्धी हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाउने बताएको छ ।

बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता चाउ ली च्येनले भने, ‘चिनियाँ राष्ट्रपतिको गत वर्ष भएको नेपाल भ्रमणका दौरान भएका सहमतिहरूलाई कार्यरूप दिन दुवै मुलुक तयार छन् । ’

नेपाल चीनले अघि सारेको बीआरआईको सदस्य मुलुक भएपनि सत्तारूढ दल नेकपाभित्र घरझगडा चलिरहेका चीनले यसअघि दुवै देशको शीर्ष नेतृत्वबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने कुरा दोहोर्‍याएको हो ।

पत्रकार सम्मेलनमा उनले नेपालसँग मिलेर आपसी सहमतिहरूलाई व्यवहारमा उतार्ने, जारी कोभिड १९ महामारी विरूद्धको सहयोगलाई निरन्तर बढाउने, बीआरआई परियोजनाको निर्माण, व्यापार तथा लगानी सहायता, प्रतिरक्षा, कानून कार्यान्वयन लगायतका द्विपक्षीय सम्बन्धको विकासलाई अघि बढाउने धारणा व्यक्त गरे ।

बुधबार नेपाल र चिनियाँ पक्षबीच भिडियोमार्फत् तेह्रौं चरणको चीन-नेपाल कूटनीतिक वार्ता भएको थियो । प्रवक्ता चाउले दुवै मुलुकबीचको आपसी सम्बन्ध तथा साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाहरूमा सो वार्तामा वैचारिक आदान-प्रदान भएको जानकारी दिए ।

प्रवक्ता चाउले चालु वर्ष दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सवमा दुवै मुलुकका नेताहरूले एक अर्कालाई बधाई सन्देश आदानप्रदान गरेको स्मरण गरे । चीन र नेपाल नदी र पहाडले जोडिएका मैत्रीपूर्ण छिमेकी भन्दै उनले भने, ‘गत वर्ष दुई मुलुकका राष्ट्रप्रमुखले सफलतापूर्वक पारस्परिक भ्रमण गरेबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइसम्म उकासिएको छ।’

चीन र नेपालले कोरोना भाइरस महामारीको प्रतिरोधका क्रममा एक अर्कालाई सहायता गरिरहेको पनि प्रवक्ता चाउले बताए । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता चाउले नेपाल र चीन उही डुंगामा रहेका मुलुक भएकाले कोरोना महामारी विरूद्ध आपसी हातेमालो गर्ने बताए ।

प्रकाशित : श्रावण २९, २०७७ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×