कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोर्डर सिल हुँदा पनि रोकिएन तस्करी

व्यवसायीका लागि क्यारिङको काम गर्ने ‘पोके तस्कर’ हरूले रक्सौलबाट कपडा भित्र्याइरहेका छन्
भूषण यादव

वीरगन्ज — कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सरकारले भारतसँगको बोर्डर सिल गरेको छ । आवागमनका लागि तोकिएका नाकाबाहेक अन्यत्रबाट ओहोरदोहोर गर्न पाइँदैन । तर व्यवसायीका लागि क्यारिङको काम गर्ने ‘पोके तस्कर’ हरूले निर्बाध रूपमा रक्सौलबाट कपडा भित्र्याइरहेका छन् ।

बोर्डर सिल हुँदा पनि रोकिएन तस्करी

२५/३० जनाको संख्यामा रहेका महिला/पुरुषले रक्सौलबाट काँध र टाउकोमा कपडा बोकेर वीरगन्जका व्यापारीको गोदामसम्म पुर्‍याउने क्रम निषेधाज्ञामा पनि जारी छ । साउन १० देखि वीरगन्जमा स्थानीय प्रशासनले निषेधाज्ञासमेत लागू गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कारबाही गर्ने भनिएको छ । तर बोर्डर सिल हुँदा पनि भारतबाट निषेधाज्ञाको समयमा वीरगन्जमा तस्करीका सामान ल्याउने कार्य निर्बाध चलिरहेको छ । तस्करको समूहले बिहान र साँझपख अवैध रूपले कपडा भित्र्यारहेको छ ।

रक्सौलबाट बोकेर ल्याएका सामान वीरगन्ज भन्सार कार्यालयको पूर्वपट्टिको बाटो हुँदै वीरगन्ज छिराउँछन् । सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती टोली र इनर्वा प्रहरी चौकी पार गरेर तस्करहरूले वीरगन्जको आदर्शनगर र बिर्तामा रहेका गोदाममा कपडा भण्डारण गर्छन् । त्यसरी सामान ओसार्ने दुई महिलासहित ८ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

‘भारतीयले सामान सिमानासम्म ल्याइदिने र त्यहाँबाट यताकाले बोकेर ल्याउने गरेका छन्,’ उनले भने, ‘जति गरे पनि नहुने रहेछ । मारे मार जेसुकै गर् झैं व्यवहार गर्छन् ।’ सोमबार पनि छपकैयाको श्रीराम हल अगाडि उनीहरूलाई नियन्त्रणमा लिन डीएसपीले टोली पठाएका थिए । ‘तर दुई जना मात्र नियन्त्रणमा लिन सक्यौं,’ उनले भने, ‘थप टोली पठाएर नियन्त्रणमा लिन्छौं ।’ पर्साको ग्रामीण नाकाबाट पनि अवैध कारोबार जारी रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण २७, २०७७ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?