महोत्तरीमा निषेधाज्ञा हप्ता दिन बढाइयो - प्रदेश २ - कान्तिपुर समाचार

महोत्तरीमा निषेधाज्ञा हप्ता दिन बढाइयो 

सुनिता बराल

महोत्तरी — कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि महोत्तरीमा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लाको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका ३ र ५ वडाको सम्पूर्ण क्षेत्रमा आइतबार राति १२ बजेबाट भाद्र १ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । 

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथामका लागि निषेधाज्ञा अपरिहार्य भएकाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र महोत्तरीको आइतबारको निर्णयअनुसार निषेधाज्ञा थप गरिएको कटुवालले बताए । जिल्ला प्रशासनले जिल्लामा साउन १५ गतेदेखि निषेधाज्ञा जारी राखेको छ ।

पछिल्लो पटक साउन २१ गतेबाट २५ गतेसम्म निषेधाज्ञा थप गरेको थियो । आइतबार जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ९ सय ६३ पुगेको जिल्ला स्वास्थय कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।

प्रकाशित : श्रावण २५, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीले इतिहासको अपव्याख्या गरिरहनु भएको छ : इतिहासविद् पन्त

गम्भीर आधुनिक इतिहासकारहरूले रामचन्द्र ‘पिरियड’ भनेर २३५० देखि १९५० ईसापूर्वलाई मान्ने गरेका छन् । र, त्यस अवधिमा रामको वंशको शासन चलेको थियो भनि रामको ऐतिहासिकता र प्रामाणिकताबारे उनीहरूले लेखेका छन् ।’
देवेन्द्र भट्टराई

काठमाडौँ — इतिहासविद् महेशराज पन्तले इतिहासको व्याख्या र प्रामाणिकता केलाउने कुरामा बहकिएर बोल्नुको अर्थ नरहेको धारणा राख्दै ‘अल्पज्ञानका भरमा आसेपासेले भरिदिएको चेतना लिएर’ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इतिहासको अपव्याख्या’ गरिरहेको बताएका छन् ।

भगवान रामको जन्मभूमिको विषयमा उठाइएको विवाद र रामलाई ‘मिथ’का रूपमा व्याख्या गर्न चाहेको सन्दर्भ आफैंमा ‘अर्थहीन’ रहेको बताउँदै संशोधनमण्डलका अभियन्ता पन्तले यस अपव्याख्यामा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय आदिको स्पष्टीकरण आइरहनुभन्दा पनि विद्वानहरूका तर्कसंगत राय बाहिर आउनु महत्त्वपूर्ण हुने बताएका छन् ।

‘त्यति टाढा (अयोध्या) बाट जन्ती लिएर कोही आउन सक्छ (?) भन्दै प्रधानमन्त्री ओलीले अर्को गलत इतिहास बोल्नुभएको छ,’ पन्तले भने, ‘रामले धनुर्भङ्ग गरेपछि बिहे गर्ने कुरा गर्न भनि राजा जनकले आफ्ना घोडचढी दूत अयोध्या पठाउँदा उनीहरू आलसतालस भई ३ दिनमा त्यहाँ पुगेको (बालकाण्ड, ६८ सर्ग, १ श्लोक), त्यसपछि सजधजसाथ राजा दशरथ विदेह अर्थात् मिथिला जान भनी हिँडेको र यसको चौथो दिनमा त्यहाँ आइपुगेको कुरा (६९ सर्ग, ७ श्लोक) वाल्मीकीय रामायणमा उल्लेख छ ।’

उनले कालिदासको ‘रघुवंश’ मा अयोध्याबाट जन्ती लिएर आएको बयान नभए पनि मिथिलाबाट दुलही लिएर फर्किदा ३ दिनको बाटोसम्म जनक राजा आफैं पुर्‍याउन गएको (११ सर्ग, ५७ श्लोक) र त्यसपछि ठाउँठाउँमा पालमा बास बसी केही रात बिताउँदै अयोध्या पुगेको बयान (११ सर्ग, ९३ श्लोक) उल्लेख रहेको बताए ।

‘त्यो जमानामा सम्पर्कलाई फोन थिएन, अरु आवतजावत सुविधा थिएन’ भन्दैमा कश्मिरका पण्डित दक्षिण भारतमा गएर राजकवि भएका उदाहरण पाइने दृष्टान्त सुनाउँदै अध्येता पन्तले चौधौं शताब्दीताका नेपालका राजाहरूले दक्षिण भारतका राजकुमारी बिहा गरेको इतिहासको पनि उल्लेख गरे । ‘फेरि रामलाई ‘ऐतिहासिक पात्र’ नमान्नु र ‘मिथ’ भन्नु पनि बेकारको कुरा हो । हरेक प्रसिद्ध मान्छेको ‘मिथ’ बन्छ नै,’ उनले भने, ‘गम्भीर आधुनिक इतिहासकारहरूले रामचन्द्र ‘पिरियड’ भनेर २३५० देखि १९५० ईसापूर्वलाई मान्ने गरेका छन् । र, त्यस अवधिमा रामको वंशको शासन चलेको थियो भनि रामको ऐतिहासिकता र प्रामाणिकताबारे उनीहरूले लेखेका छन् ।’

उदाहरणका लागि भारतीय विद्याभवनद्वारा प्रकाशित ‘द बेदिक एज : द हिस्ट्रि एन्ड कल्चर अफ दि इन्डियन पिपुल’ (भाग एक) र एफ.ई. पार्गिटरको ‘एन्सिएन्ट इन्डियन हिस्टोरिकल ट्रेडिशन’ मा समेत यो इतिहास उल्लेखित रहेको पन्त बताउँछन् ।

पन्तले ‘अयोध्या’ नामका पछि लागिरहनुको अर्थ नरहेको भन्दै ‘पाल्पामा असनको मान्छे गएर असन टोल नाम राखेको, लण्डनमा लखनऊ रोड र वैशालीबाट आएका लिच्छविहरूले विशालनगर नाम राखेको इतिहास भुल्न नमिल्ने’ बताए । हालै दिवंगत विष्णुराज आत्रेयले पाणिनि, पतञ्जली र कालिदासलाई नेपालकै भनेर किताब लेखेको सन्दर्भ निकाल्दै नेपालमा ‘सही विद्वानको खडेरी रहेको’ धारणा उनले राखे । ‘नेपालमा यस्तोखालको ‘देशभक्ति’को सुरूवात भएको पौने शताब्दी नै भइसक्यो । म सानै छँदा पण्डित मुरलीधर भट्टराईले कालिदास नेपालका हुन् भनी हिन्दीमा पुस्तिका छपाएको सम्झना अहिले गरिरहेको छु,’ उनी भन्छन्, ‘एकताका केशरबहादुर खत्री छेत्रीले खाली नाम मिलेकै भरमा लिच्छवी राजा मानदेवका छोरीका छोरा भारवीलाई ‘किरातार्जुनीय’का रचयिता भारवी भन्दै ती प्रख्यात महाकाव्यकारलाई नेपाली भनेर होहल्ला मच्चाएका थिए, तर त्यसमा प्रामाणिकता थिएन ।’

इतिहास संशोधन मण्डल र ऐतिहासिक महत्वको ‘पूर्णिमा’ पत्रिकाका अभियन्ता पन्तले ओहदा पाउन मरिहत्ते गर्ने विद्वानको व्याख्यान र बुझाइमा प्रधानमन्त्री ओलीसमेत दिग्भ्रममा परिरहेको मूल्यांकन सुनाए । ‘होइन भने प्रधानमन्त्री ओलीले गरेको त्यस्तो विद्रूप भाषण सुनेरै कोही बसिरहन्थ्यो होला ? प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिसमेत अन्धभक्त भई प्रधानमन्त्री वाणीको प्रशंसा गरिरहेका छन् । त्यसमाथि, पुरातत्त्व विभाग र त्रिभुवन विश्वविद्यालयको प्राचीन–इतिहासका विद्वानहरु प्रधानमन्त्रीको आज्ञा शिरमा लिएर नेपालमै अयोध्याको अस्तित्व देखाउन कम्मर कसेर लागेका छन्,’ आक्रोशको स्वरमा पन्तले थपे, ‘हेरौं, उनीहरूले खरायोको सीङ भेट्टाउँछन् कि ?’

गएको असार ७ गते प्रधानमन्त्री ओलीले भारत सरकारको आदर्श उक्ति ‘सत्यमेव जयते’को समानान्तर वाक्य बनाएको पनि त्यत्तिकै गलत भएको पन्तले बताए । ‘उपनिषद्को ‘सत्य मेव जयते’ (सत्यको नै जित हुन्छ) भन्ने अर्थ भएको वाक्यलाई आफू अनुकूल ‘सिंहमेव जयते’ भनी हाम्रा प्रधानमन्त्रीले बनाइदिनुभयो । तर, यसरी बनाउँदा ‘सिंह’ शब्द ‘सत्य’ जस्तो नपुंसकलिंगी नभई पुलिंगी हो भन्ने चाहिँ विचार राख्नुभएन । उहाँलाई जोरी खोज्नु नै थियो भने ‘सिंह एव जयते’ भन्नुपर्थ्यो,’ उनले भने, ‘यसरी प्रधानमन्त्रीको तहबाट ‘तर्कहीन’ कुरा आइरहनु त्यति सुहाउँदो देखिन्न ।’

प्रकाशित : श्रावण २५, २०७७ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×