कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रौतहटमा शनिबारबाट निषेधाज्ञा

शिव पुरी

रौतहट — कोरोना संक्रमण बढ्दै गएपछि रौतहटको स्थानीय प्रशासनले शनिबार (साउन २४) गतेबाट निषेधाज्ञा जारीको आदेश गरेको छ । नियन्त्रणतर्फ उन्मुख रहेको यस जिल्लाका केही नगरपालिकामा संक्रमण देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।  

कोभिड–१९ कै कारण रोजगारी गुमी भारतबाट घर फर्केर क्वारेन्टाइन बस्नेहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय अन्यमा पनि कोरोना देखिन थालेको छ । जिल्लामा कोरोनाका ६ जना नयाँ संक्रमित पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए । उनले भने, ‘समुदायमा पनि कोरोना देखिन थालेपछि नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौं । समुदायका मानिसहरुले स्वास्थ्य नियमको ख्याल गर्नु पर्छ ।’

जिल्ला प्रशासनमा बुधबार सुरक्षा समितिको बैठक बसी शनिबारबाट जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रशासनले छिमेकी जिल्ला भारतमा कोरोना संक्रमण फैलिँदै गएको र यस जिल्लाको केही नगरपालिकामा संक्रमण देखिएकाले साउन २४ गतेबाट ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ । जिल्लामा मानिसहरु संक्रमणबाट जोगिन समान्य स्वास्थ्य सुरक्षामापदण्ड पूरा नगर्ने, मास्क नलागाउने र समाजिक दूरी कायम नगर्ने जस्ता कार्य बढेको प्रशासनको ठम्याइ छ । उद्योग वाणिज्य संघको प्रतिनिधिलाई समेत राखेर प्रशासनले निषेधाज्ञाको निर्णय गरेको हो ।

संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासनले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको जोखिम बढिरहेकाले सर्वसाधारणलाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रकाशित : श्रावण २२, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?