पूर्वपश्चिम राजमार्गमा खाल्डैखाल्डा

सुनीता बराल

महोत्तरी — मध्य असारदेखि परेको अविरल वर्षाले पूर्वपश्चिम राजमार्गमा खाल्डैखाल्डा बनाएको छ । महोत्तरीको बर्दिवास क्षेत्रमा राजमार्गमा बनेका खाल्डामा पानी जम्दा दुर्घटनाको जोखिम बढेको हो ।

पूर्वपश्चिम राजमार्गमा खाल्डैखाल्डा

असार १४ देखि अविरल परेको वर्षाले जिल्लाको पूर्वमा रातु नदिदेखि पश्चिममा बाँके मराहा खोलासम्म सयौँ खाल्डा परेकाले सडक जिर्ण बनेको छ । बर्दिवास–१ स्थित बजारक्षेत्रमै राजमार्गमा बनेका ठूला खाल्डामा पानी जम्दा खाल्डा पोखरीझैं देखिएका छन् । सडकका खाल्डाले दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले तत्काल सडक टालटुल पार्न माग गरेको छ ।

आफ्नो गतिमा हिँडेका केही ठूला सवारी, मोटरसाइकल र स्कुटर खाल्डामा परेर पल्टने गरेका बर्दिवास १ का साजन थापाले बताए । राजमार्गमा पानी जमेर बनेका पोखरी र खाल्डा समयमै सम्बन्धित निकायले मर्मतसम्भार नगर्ने हो भने खाल्डाले नै राजमार्गमा ठूला दुर्घटना हुने जोखिम बढेको थापाले बताए ।

आफ्नो गतिमा हिँडेका सवारी झुक्किएर राजमार्गका खाल्डामा लड्न थालेपछि ट्राफिक प्रहरीले नै खाल्डामा गिट्टीबालुवा पनि भरेको तर फेरि पानीले बगाएपछि दुर्घटनाको जोखिम कम गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख कैलाश खत्रीले बताए ।

महोत्तरीको धेरैजसो सडक पानीले जिर्ण बनाएपछि दुर्घटना कम गराउन सडक मर्मत गराउन सडक विभागमा समेत आफूले पहल गरिरहेको प्रमुख खत्रीले बताए ।

राजमार्गका छेउछाउमा भएका फोहोर बोरामा संकलन गरेर ट्राफिक प्रहरी र स्थानीयले राजमार्गका कतिपय खाल्डा पुरेका छन् भने खाल्डा भएको ठाउँमा सचेत रहन ट्राफिक प्रहरीले बीच सडकमै खाल्डालाई ट्राफिक कोनले समेत घेरेर राखेको छ ।

जनकपुरस्थित सडक विभाग कार्यालयले भने पानी पर्ने क्रम अझै नरोकिएको भन्दै सडक मर्मत गर्न घाम लाग्ने दिन कुरेर बताए । देशकै मुख्य राजमार्गलाई नगरले चलाउन नमिल्ने भन्दै पूर्वपश्चिम राजमार्गमा बनेका खाल्डा मर्मत र जिर्ण राजमार्गलाई बनाउन आफूले सडक विभागसँग धेरै पहल गरिसकेको र निरन्तर सम्पर्कमै रहेको बर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले बताए । केही दिन घाम लागेपछि सडकले राजमार्गका खाल्डा मर्मत गर्ने आफूसँग बाचा गरेको मेयर कार्कीले जानकारी दिए ।

नगरपालिका कार्यालय छेउमै राजमार्गमा पोखरीजत्रा खाल्डा बन्दासमेत नगर मूकदर्शक बनेको भन्दै स्थानीय असन्तुष्ट बनेका छन् । सडक डिभिजन कार्यालयका प्रमुख विनोदकुमार मौवारले भने राजमार्गमा बनेका खाल्डा भरेर कालोपत्रे नै गर्नुपर्ने भएकाले एकहप्ता मौसममा सुधार आएपछि काम अघि बढाउने जानकारी दिए । पानी परिरहेको समयमा काम बिग्रिने भएकाले मौसम सफा भएपछि जिर्ण भएका सडक मर्मतको काम सुरु गरिने उनले बताए ।

प्रकाशित : श्रावण २२, २०७७ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?