२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेकाको मृत्यु

अवधेशकुमार झा

राजविराज — डेढ महिनाअघि मलेसियाबाट आई होम क्वारेन्टाइनमा बसेका रुपनी गाउँपालिका–५ गढियाका एक व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शव अन्तिम संस्कार गर्न रोक लगाएको छ ।

होम क्वारेन्टाइनमा बसे पनि ४५ वर्षीय ती व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । पीसीआर परीक्षणका लागि बोलाउँदा परिवारले उनी राजविराज गएको र उतै गराउने भन्दै पन्छिने गरेको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।

केही दिनदेखि ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर, अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको अध्यक्ष यादवले जानकारी दिए ।

परिवारले बुधबार बिहान शव गाउँ ल्याएर अन्तिम संस्कार गर्न लाग्दा गाउँपालिकाले रोकेको हो । जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलनपछि मात्र शव अन्तिम संस्कार गर्न दिइने बताए । ‘स्वाब संकलनका लागि स्वास्थ्यकर्मी खटाइसकिएको छ,’ उनले भने ।

यसैबीच राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मंगलबार राति मृत्यु भएका दुई जनाको पनि स्वाब संकलन गरिँदै छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य प्रमुख यादवले दुवै जनामा शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकी स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

प्रकाशित : श्रावण २१, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?