मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेकाको मृत्यु- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेकाको मृत्यु

अवधेशकुमार झा

राजविराज — डेढ महिनाअघि मलेसियाबाट आई होम क्वारेन्टाइनमा बसेका रुपनी गाउँपालिका–५ गढियाका एक व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शव अन्तिम संस्कार गर्न रोक लगाएको छ ।

होम क्वारेन्टाइनमा बसे पनि ४५ वर्षीय ती व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । पीसीआर परीक्षणका लागि बोलाउँदा परिवारले उनी राजविराज गएको र उतै गराउने भन्दै पन्छिने गरेको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।

केही दिनदेखि ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर, अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको अध्यक्ष यादवले जानकारी दिए ।

परिवारले बुधबार बिहान शव गाउँ ल्याएर अन्तिम संस्कार गर्न लाग्दा गाउँपालिकाले रोकेको हो । जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलनपछि मात्र शव अन्तिम संस्कार गर्न दिइने बताए । ‘स्वाब संकलनका लागि स्वास्थ्यकर्मी खटाइसकिएको छ,’ उनले भने ।

यसैबीच राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मंगलबार राति मृत्यु भएका दुई जनाको पनि स्वाब संकलन गरिँदै छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य प्रमुख यादवले दुवै जनामा शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकी स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

प्रकाशित : श्रावण २१, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो, प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।

कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी एक लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ ।

पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या एक करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा विभिन्न मुलुकले गरेका अनुसन्धानहरुमा आशा गर्ने ठाउँ भए पनि कहिले बन्छ भनेर भन्न नसकिने बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडहानोम गेहब्रेयससले कोरोनाको खोप निर्माण ‘जादुको छडी’ नभएको बताएका छन् । उनले कोरोनाविरुद्धको खोप कहिल्यै नबन्ने सम्भावना पनि रहेको उल्लेख गर्दै मास्कको प्रयोग र सामाजिक दूरी भौतिक दूरी नै संक्रमण रोकथामको उत्तम विकल्प भएको बताएका छन् ।

प्रकाशित : श्रावण २१, २०७७ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×