१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुई सातामा दस जना फरार अभियुक्त पक्राउ

कोरोना संक्रमणबाट जोगिन घर आएकाे मौकामा प्रहरीले धमाधम पक्राउ गर्दै
शिव पुरी

रौतहट — रौतहटका विभिन्न स्थानमा भएका घटनामा संलग्न फरार अभियुक्तहरु कोभिड–१९ को संक्रमणबाट जोगिन घर आएको मौका पारेर प्रहरीले धमाधम पक्रन थालेको छ ।

दुई सातामा दस जना फरार अभियुक्त पक्राउ

जिल्ला अदालत गौरबाट विभिन्न घटनामा दण्ड सजाय पाइ फरार प्रतिवादीहरुलाई इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेर अदालतमा बुझाएको छ । प्रहरीले दुई साताभित्रमा १० जना फरारलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न घटनामा संलग्न रहेका अभियुक्तविरुद्ध कैद, जरिवाना तोकिएको र हालसम्म फरारहरु धमाधम पक्राउ पर्न थालेका हुन् । घटनापछि फरार विरुद्ध कसुर अनुसारको ऐनमा मुद्दा चलि अदालतको आदेश, फैसला भइसकेको छ । इलाकाका डीएसपी हेमबहादुर शाहीले लामो समय फरार भएकाहरु विरुद्ध खोजतलास गर्ने क्रममा पक्राउ गरिएको बताए ।

‘अदालतको आदेश र विशेष टोली परिचालन गरी फरार पक्रन सफल भएका छौं,’उनले भने,‘अपराध गर्नेहरु भागेर कहिले पनि उन्मुक्ति पाउँदैनन् ।’

पक्राउ परेकाहरुको पीसीआर परीक्षण गरेर अदालत बुझाइएको छ । यसअघि जिल्ला प्रहरी गौरको अपराध अनुसन्धानको टोलीले ‘कोभर्ट अपरेसन’को माध्यमबाट लामो समयदेखि फरार ३३ जना फरार पक्राउ गरेको थियो ।

प्रकाशित : श्रावण २०, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?