१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

प्रदेश २ का ५ ठूला सहरमा निषेधाज्ञा

अजित तिवारी

जनकपुर — लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको संक्रमण बढेपछि प्रदेश २ को ५ ठूला सहरमा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुर, पर्साको वीरगन्ज, बाराको कलैयालगायतका अधिकांश ठाउँ, महोत्तरीको जलेश्वर र सप्तरीको राजबिराजलगायतका ठाउँमा निषेधाज्ञा लागेको छ ।

प्रदेश २ का ५ ठूला सहरमा निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण उच्च रहेका सहरहरुमा निषेधाज्ञा जारी गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि जनकपुर र क्षीरेश्वरनाथ नगरपालिकासमेतलाई समेटेर साउन २५ गतेसम्म निषेधाज्ञा लगाइएको छ । सोमबार राति १२ बजेदेखि लगाइएको निषेधाज्ञाले जनकपुर सुनसान छ । बजारमा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको छ ।

सुनसान वीरगन्ज

संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय, सप्तरीले पनि मंगलबार बिहान ५ बजेदेखि साउन २६ गतेसम्म जिल्लाभरि निषेधाज्ञा बढाएको छ । साउन ८ गतेदेखि सप्तरीको राजविराजमा मात्र निषेधाज्ञा लगाइएको थियो । संक्रमितको संख्या जिल्लाभरि देखिएपछि निषेधाज्ञा सबैतिर गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

सप्तरीको जिल्लाभरि निषेधाज्ञा लगाएपनि पूर्वपश्चिम राजमार्ग भने सुचारु छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले केन्द्रीय आपूर्ति, एम्बुलेन्स, पास भएका गाडीलगायतका कारण राजमार्गलाई निषेधाज्ञामुक्त गरिएको बताए ।

प्रदेश २ का महानगर वीरगन्जमा संक्रमित थपिएसँगै मृत्यु हुनेको संख्या उच्च बनेपछि साउन १० गतेदेखि लगाइएको निषेधाज्ञा अझै जारी छ । महोत्तरीको सीमावर्ती सहर जलेश्वरमा पनि संक्रमित बढेपछि साउन १६ गतेदेखि र बाराको अधिकांश स्थानमा साउन १८ गतेदेखि निषेधाज्ञा लगाइएको छ । प्रदेश २ को आधाभन्दा बढी सहर कोरोना भाइरससँग बच्न निषेधाज्ञाको सामना गरिरहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार साउन १९ गतेसम्म प्रदेश २ मा कुल संक्रमितको संख्या ५ हजार ९ जना पुगेको छ । जसमध्ये ३ हजार १ सय ८४ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरस संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । १ हजार ५ सय ८८ जना क्वारेन्टाइनमा र ६ सय २६ जना आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित : श्रावण २०, २०७७ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?