कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमित कैदीबन्दीको सम्पर्कमा आएकाको परीक्षण भएन

भूषण यादव

वीरगन्ज — गत मंगलबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ८ जना वीरगन्ज कारागारका कैदीबन्दी, दुईजना कारागारका कार्यालय सहयोगी र ३ जना कारागारमा परिचालन गरिएका प्रहरी थिए ।

संक्रमित कैदीबन्दी, कार्यालय सहयोगी र प्रहरीलाई कारागार परिसरमा रहेको समता स्कुल र अस्पतालमा आइसोलेट गरिएको कारागारका जेलर श्रवणकुमार पोखरेलले बताए । अदालत र अस्पताल आउजाउ गर्नेको २२ जनाको सोमबार स्वाब संकलन गरी परीक्षण गर्दा १३ जना संक्रमित फेला परेका थिए ।

कारागारका १३ जना संक्रमितको सम्पर्कमा आएका ७५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी विवरण तयारी पारिएको थियो । ‘कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको विवरण बुधबार नै सम्बन्धित निकायमा पठाइसकिएको छ,’ जेलर पोखरेल भन्छन्, ‘हालसम्म स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली आएको छैन्, आइतबार आउने कुरा छ ।’ जेलर पोखरेलले कैदीबन्दीमा सामान्य रुघाखोकी आएको बताउँछन् । कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको विवरण पठाएको ४ दिन बितिसक्दा पनि स्वाब संकलनका लागि स्वास्थ्यकर्मी नआउँदा कारगारभित्र संक्रमण फैलिने जोखिम उच्च छ ।

कैदीबन्दीका अनुसार एक सयभन्दा बढीमा ज्वरो र खोकीका लक्षण देखिएको छ । ‘कारागारका नाइकेले ज्वरो आएकाहरुलाई छुट्टै ब्लकमा राखेका छन्,’ एक कैदीले भने, ‘तर, धारा र शौचालय त सबैले एकै प्रयोग गर्ने हो ।’ कारागारमा १ हजार २ सय ९ कैदीबन्दी छन् ।

स्वास्थ्य कार्यालयका निरीक्षक जयमोद ठाकुरका अनुसार महानगरपालिकाभित्र कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको जिम्मेवारी महानगर स्वास्थ्य महाशाखाको हो । ‘तर, महानगरले स्वास्थ्यकर्मी परिचालन गर्न सकेको छैन्,’ उनले भने, ‘कारागारमा आज(आइतबार) स्वाब संकलन गरिने छ ।’

प्रकाशित : श्रावण १८, २०७७ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?