कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बाराका अधिकांश ठाउँमा आइतबारदेखि निषेधाज्ञा

लक्ष्मी साह

बारा — जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाको अधिकांश ठाउँमा आइतबार विहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्ला र छिमेकी जिल्ला पर्साको वीरगन्जमा कोरोना संक्रमित बढेसँगै सतर्कता अपनाउन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाराका अधिकांश ठाउँमा आइतबारदेखि निषेधाज्ञा

वीरगन्जदेखि पथलैयासम्मको औद्योगिक क्षेत्र, पथलैयादेखि निजगढसम्मको पूर्व–पश्चिम राजमार्ग, वीरगन्जदेखि रौतहटको सिमानासम्म जोडिने हुलाकी मार्ग छेउछाउका स्थानीय तहहरुलगायत कलैया र जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

यस्तै सिम्रौनगढ, कोल्हवी र महागढीमाई नगरपालिकाभित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ र संक्रामक रोग नियन्त्रण २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । ‘जिल्ला र छिमेकी जिल्लामा दैनिक संक्रमितहरु भेटिन थालेपछि संक्रमण नियन्त्रणका लागि निश्चित ठाउँहरुमा निषेधाज्ञा जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘खाद्यान्न र औषधि उपचार, औषधि तथा खाद्यन्न पसलबाहेक सबै बन्द रहने छ ।’

सेवाग्रहीलाई सरकारी कार्यालयबाट दिइने सेवाको हकमा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहने उनले बताए । यसैगरी हाटबजार तथा नेपाल–भारत आउजाउ बन्द रहने उनले बताए । निषेधित क्षेत्रमा भोजभतेर, धार्मिक, साँस्कृतिक, सामाजिक क्रियाकलाप र विवाह व्रतबन्धमा रोक लगाइएको छ ।

उद्योगभित्रका होस्टेल तथा उद्योग सञ्चालन गर्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न गराउन भनिएको छ । प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार उद्योगहरुमा कोरोना संक्रमित भेटिएकाले जगदम्बा इन्टरप्राइजेज र मारुती फर्मास्युटिकल उद्योग सिल गरिएको छ । ‘अरु पनि उद्योगहरुमा अनुगमन थालिएको छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड नअपनाउनेलाई सिल गरिनेछ,’ उनले भने ।

प्रकाशित : श्रावण १७, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?