सांसद कोषको रकमबाट प्रवेशद्वारमा राष्ट्रिय झन्डा

भूषण यादव

वीरगन्ज — संसदीय विकास कोषबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले मुलुकको मुख्य नाका वीरगन्जमा नेपालको राष्ट्रिय झन्डासहितको 'फ्ल्याग टावर' निर्माण गराएका छन् । एक सय दस फिट उचाई भएको टावरमा ३० फिट लामो राष्ट्रिय झन्डा ठड्याइएको छ । 

सांसद कोषको रकमबाट प्रवेशद्वारमा राष्ट्रिय झन्डा

शंकराचार्यद्वार अगाडि १३ लाख ६२ हजार रुपैयाँमा निर्माण गरिएको झन्डासहितको टावर सांसद यादवले शुक्रबार उद्घाटन गरे । संसदीय पूर्वाधार विकास कोषबाट १० लाख र बाँकी अपुग रकम आफ्नो तलब भत्ताको रकमबाट फ्ल्याग टावर निर्माण गरिएको सांसद यादवले जनाए ।

मुलुकको मुख्य प्रवेशद्वारमा राष्ट्रको गौरव र सम्पूर्ण नेपालीको पहिचान झल्कने राष्ट्रिय झन्डा स्थापना गरेर गर्वको अनुभूति भएको उनले बताए । उनका अनुसार खुला सीमाका कारण वीरगन्ज र रक्सौललाई छुट्याउन नसक्ने भएकाले नेपाल प्रवेश गर्ने भारतीय र अन्य विदेशीलाई आफू नेपालमा प्रवेश गरेको अनुभूति यो राष्ट्रिय झन्डाले दिने छ ।

‘कुनै पनि विदेशी नागरिक जब नेपाल प्रवेश गर्छ, तब देशको झन्डा हेरेर थाहा पाउँछ कि नेपाल प्रवेश गरिसकेँ,’ सांसद यादवले भने, ‘मूख्य प्रवेशद्वारमा देशको झन्डा स्थापना गरेर गौरव ठानेको छु । केहीले मधेस र मधेसीमा राष्ट्रियता कम हुन्छ भन्ने आरोप लगाउँछन् । उनीहरुलाई देखाउन चाहन्छु कि मधेसीमा कति राष्ट्रियता छ,’ उनले भने, ‘यो देशको सीमा जोगाउने नै मधेसी हुन् ।’ सानो कामले पनि मुलुक र जनताको शान बढाएको उनले बताए ।

‘हामीले मधेस आन्दोलन पनि यही प्रवेशद्वारमा गर्‍यौं,’ सांसद यादवले भने, ‘हामी माथि अनेक प्रहार भयो, उनीहरुलाई पनि देखाउन चाहन्छु । हामी मधेसी राष्ट्रिवादी हौं, पहिचान र अधिकारका लागि आन्दोलन गरेका थियौं ।’

प्रकाशित : श्रावण ९, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?