१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वीरगन्ज महानगरपालिकामा शनिबारदेखि निषेधाज्ञा

कोरोना रोकथाम, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन साउन १० गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म वीरगन्ज महानगरपालिका क्षेत्रभरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
भूषण यादव

वीरगन्ज — पछिल्लो समयमा लक्षणसहितको कोरोना संक्रमण पर्सामा व्यापक बन्दै गएकाले स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिका क्षेत्रमा शनिबार बिहान ५ देखि अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । 

वीरगन्ज महानगरपालिकामा शनिबारदेखि निषेधाज्ञा

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बसेको जिल्लाका राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, वीरगन्ज महानगरपालिका, स्वास्थ्य कार्यालय, नारायणी अस्पताल, वीरगन्ज उद्योग वाणिज्य संघलगायत विभिन्न निकायका प्रतिनिधिको उपस्थितिमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

साउनयता पर्सामा ५ जना भारतीय सहित ८३ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये वीरगन्ज निवासी दुई जना कोरोना संक्रमितको मृत्युसमेत भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएको देखिएको, पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितहरु समेत देखा पर्न थालेका, संक्रमित केहीको मृत्यु समेत भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था समेत जटिल देखिएकोले संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन साउन १० गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म वीरगन्ज महानगरपालिका क्षेत्रभरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । कोभिड–१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशसत्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन अनुसार नेपाली सेनाको समेत सहयोग लिने निर्णय भएको बस्नेतले जनाए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने आदेश भएको उनले बताए । शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपी, ड्राइपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अतिवाश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा नीजि यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको बस्नेतले बताए ।

भारतसँग सीमाना जोडिएका सीमा नाका तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपी मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीको व्यापक गस्ती बढाइ ‘ऐरिया डोमिनेसन’ गरिने छ । निषेधाज्ञा अवज्ञा वा अवहेलना गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन तथा स्थानीय प्रशासन ऐन अनुसार कारबाही समेत गर्ने उनले बताए । कोरोना पोजिटिभ देखिएकाहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्टयाक्ट ट्रेसिङ गरी परीक्षणलाई तीव्र पार्ने बैठकले निर्णय गरेको छ । संक्रमणको बढी जोखिम भएका स्थानमा समेत पीसीआर जाँचका लागि ‘र्‍यान्डम’ रुपमा स्वाब संकलन गरिने छ । यसको संयोजन वीरगन्ज महानगपालिकाले सेना, प्रहरी, स्वास्थ्य कार्यालयको समन्वय र सहयोगमा गर्ने बस्नेतले बताए ।

कुनै उद्योग, प्रतिष्ठान एवं घरमा बस्ने कसैमा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा त्यस्ता उद्योग, प्रतिष्ठान एवं घर सिल गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा ती निकायको प्रत्यक्ष निगरानीमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको होम क्वारेन्टाइन सम्बन्धी मापदण्ड २०७७ बमोजिम होम क्वारेन्टाइनको रुपमा सञ्चालन गर्ने निर्णय भएको उनले बताए । लक्षण नदेखिएका कोरोना पोजिटिभ पुष्टि भएका व्यक्तिलाई हालको लागि सिद्धार्थ माविमा स्थापना गरिएको सेमि आइसोलेसनमा राख्ने बस्नेतले बताए । यस्ता लक्षण बिनाका पोजिटिभ पुष्टि भएका व्यक्तिको संख्या बढ्दै गएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड–१९ केसको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम हुने गरि स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी घरमै आइसोलसनमा बस्ने सुविधा दिने बैठकले निर्णय गरेको छ । तोकिएको आधार र मापदण्ड पूरा नहुने अवस्था देखिएमा भने तोकिएका आइसोलेसन सेन्टरमै ल्याउने उनले बताए ।

प्रकाशित : श्रावण ९, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?