वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । चिकित्सकका अनुसार ती वृद्ध महिला मुटु रोगी थिइन् । हाल निमोनिया भएर अस्पताल आएकी थिइन् । 

वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु

कोरोना अस्पतालका इन्चार्ज डा. निरज सिंहका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएको थिइन् । ‘ती वृद्ध महिला मंगलबार एडभान्स मेडिकेयर हस्पिटलमा निमोनिया जाँच गराउन आएकी थिइन्,’ डा. सिंहले भने, ‘मुटु रोगकी पुरानो बिरामी महिलामा निमोनियासँगै कोरोनाको लक्षण देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो ।’ ती महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान पौने ७ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।

प्रकाशित : श्रावण ९, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?