पाँच थुनुवासहित पर्सामा थप ३२ जनामा कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थुनुवा ५ जना भारतीय नागरिक हुन् ।

बिहीबार साँझ गरिएको परीक्षणमा ७ महिला र २५ पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए । उनीहरूको साउन ६ र ७ गते स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये १८ जना वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । १३ जना कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइनमा ल्याइएका हुन् । बाँकी दुई संक्रमितमा एक जना सर्लाही र एक जना बाराका छन् ।

‘९ महिने बालकदेखि लिएर ६० वर्षीय वृद्धसम्म संक्रमित भएका छन्,’ डा. सिंहले भने, ‘अधिकांश कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित देखिएका हुन् ।’

स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार श्रीपुर वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका पाँच भारतीयमा कोरोना संक्रमण देखिएको हो । श्रीपुरका प्रहरी निरीक्षक दीपककुमार साहले उनीहरूलाई गत शुक्रबार संक्रामक रोगअन्तर्गत पक्राउ गरिएको बताए । ‘उनीहरूमा कुनै लक्षण थिएन,’ उनले भने, ‘नियन्त्रणमा रहेका प्रत्येक थुनुवाको अनिवार्य पीसीआर परीक्षण गराउनुपर्ने भएकाले स्वाब संकलन गरिएको थियो ।’

प्रकाशित : श्रावण ९, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय सडकले बस्ती डुब्यो

मनोज पौडेल, मधु शाही, रुपा गहतराज

कपिलवस्तु, बाँके — बाँकेको सीमावर्ती बासिन्दाका पीडा अनेक छन् । नेपाल–भारत सीमा छुट्याउने नरैनापुरस्थित पिलर हिलोमा डुबेको छ । यहाँका बासिन्दाको आँगन नै दशगजा हो । तीन दिनसम्मको अविरल वर्षाले नरैनापुर गाउँपालिका–१ को बनिया टोल हिलाम्य छ । ‘पानी निकास हुने ठाउँ छैन,’ स्थानीय ७५ वर्षीय गवाँफर खानले भने, ‘भारतले सडक बनायो, पानी बस्तीमै जम्छ ।’ उनको पुस्तैनी सीमामै बित्यो ।

भारतले सडक निर्माण गर्नुअघि वर्षात्को पानी बगेर उता जान्थ्यो । अहिले सडकले छेकेको छ । दशगजाबाट एक सय मिटर पर भारतले बाँधजस्तै सडक निर्माण गरेको छ । त्यसले नरैनापुर–१ का बनिया र महातनिया गाउँ चुर्लुम्म बनेका हुन् ।

महातनिया गाउँका अब्दुल हक वर्षभरि ज्यान सुरक्षित कसरी राख्ने भन्ने चिन्तामा हुन्छन् । पक्की घर भएकाले छतमाथि बसेर सुरक्षित महसुस गर्छन् । कच्ची घर हुने भित्रै ओत लाग्छन् । नरैनापुर–४ स्थित घोरदौरिया गाउँ दशगजामा छ । यो गाउँ पूरै डुबानमा पर्छ ।

नरैनापुर–६ मा पर्ने सोनवर्षा गाउँ पनि बाढीको उच्च जोखिममा छ । ०७२/०७३ को बाढीले यहाँका झन्डै तीन सय घर डुबानमा परेका थिए । ‘राप्तीकै छेउमा भारतले सडक बनाएको छ,’ राप्तीको छेउमा घर भएका जागिर हुसैनले पाँच वर्षअघिको बाढी सम्झँदै भने, ‘पानी निकास नहुँदा तीन दिनसम्म डुबानमा परियो ।’ भारतले सडक नबनाउँदा सीमावर्ती क्षेत्र खासै जोखिममा हुँदैन थियो । जब पारिपट्टि (भारत) अग्लो सडक बन्यो, त्यसपछि राप्ती नदी र विभिन्न नाला हुँदै आएको पानी फर्किएर नरैनापुरका सीमावर्ती गाउँमा छिर्न थालेको छ ।

बाँकेको दक्षिणी भागमा पर्ने नरैनापुरको सुइया, बगौडा, बनिया, महातरिया, घरर्धौरियालगायत गाउँ दशगजामा पर्छन् । पानी भारततर्फ निकास हुने हो भने आधाजसो सीमावर्ती बस्ती बाढीदेखि जोगाउन सकिने नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम न्यूनीकरणको तयारी गरिरहेको दाबी गरेको छ । सीमावर्ती क्षेत्रमा बाढी आए तुरुन्तै व्यवस्थापन गर्न चुनौती रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘रेस्क्यु गर्नुबाहेक अरू कुनै विकल्प छैन,’ उनले भने । सीमास्थित भारतीय बजहा बाँधले पानीको निकास थुनेपछि कपिलवस्तुमा तीन सय हेक्टरभन्दा बढी खेत डुबेको छ । ५० हेक्टरभन्दा बढी खेतमा रोपाइँ नै हुन सकेन ।

त्यस्तै, यशोधरा गाउँपालिका–१, रजवापुर, यशोधरा–६, पुन्नीहवा र पकडी गाउँको धान खेत डुबेका छन् । सीमाबाट ३ देखि ५ किलोमिटर उत्तरसम्मका खेत पानीमा डुबेपछि धान पहेंलिएको छ । भारतको सिद्धार्थनगर जिल्लास्थित चिल्हिया थानाअन्तर्गत बजहामा बाँध बनाइएको छ । बाँधका ढोका नखोलिँदा पानीले नेपालतिर डुबान गर्छ ।

प्रकाशित : श्रावण ९, २०७७ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×