कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सशस्त्रको बीओपी डुबेपछि अन्यत्र सारियो

शिव पुरी

रौतहट — लगातारको वर्षाले सदरमुकाम गौरको भन्सार क्षेत्रस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) डुबानमा पारेपछि अन्यत्र सारिएको छ । डुबानका कारण भन्सार क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

सशस्त्रको बीओपी डुबेपछि अन्यत्र सारियो

सदरमुकाम गौर सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा लगाएको बाँधका कारण पानीले निकास नपाउँदा भन्सार क्षेत्र डुबानमा परेको हो । अहिले सीमा क्षेत्रको सशस्त्र प्रहरीको बेसलाई पुरेनवास्थित आँखा अस्पताल सारिएको सशस्त्र प्रहरी ११ नम्बर गण हेडक्वार्टर हजमिनियाले जनाएको छ । झण्डै ३ फिट भन्दा बढी पानी जमेपछि सशस्त्रलाई त्यहाँबाट तत्काल हटाइएको थियो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सशस्त्रको बेसका सुरक्षाकर्मीलाई सरक्षित स्थानमा सारिएको बताए ।

लगातारको वर्षाले लालबकैया र वाग्मती नदीमा आएको बाढीको पानीले सशस्त्र प्रहरी तथा नेपाल प्रहरी कार्यालयहरु डुबानमा परेपनि सुरक्षाकर्मी उद्धारमा खटिरहेको पाइएको छ । यता झाझ खोलामा आएको बाढीले हजमिनियामा रहेको सशस्त्र प्रहरीको ११ नम्बर गण डुबानमा परेको थियो । डुबान हुन थालेपछि सवारी साधनहरु, खाद्यान्न, तथा बन्दोबस्तीका सामानहरु सुरक्षित स्थानमा सारिएको गण प्रमुख एसपी रविनराज कर्णजितले बताए ।

वगमती र लालबकैया नदीमा आएको बाढीको पानी सदरमुकाम गौरमा प्रवेश गरेको थियो । डुबानकै कारण नेपाल प्रहरीको गौर भन्सार कार्यालयको सुरक्षार्थ रहेका प्रहरी चौकी नजिकको घरमा सारिएको छ । इशनाथ नगरपालिका १ बन्जरहा सीमा प्रहरी चौकी समेत डुबानमा परेपछि अन्तै स्थानान्तरण गरिएको जिल्ला प्रहरीले जनायो ।

गौर–चन्द्रपुर सडक खण्ड अन्तर्गको पर्ने सबगढा कजवेमा बकैयाको बाढी पसेपछि दुईदिन सम्म आवागमन अवरुद्ध बनेको थियो । अहिले पानी केही घटेको छ । तरपनि आवागमन जोखिम रहेको प्रहरीले जनायो । वर्षाले डुबान पार्दा सडक सञ्जाल जलमग्‍न भइ आवागमन अवरुद्ध भएको छ । जिल्लाको पुरानो गंगापिपारा बनारबाट गौर जोडिने रजैया सडकको राजदेवी नपा र दुर्गा भगवती गापाको सिमामा पर्ने पथरा पुलको डाइभर्सन बगाउदा सडक अवरुद्ध बनेको छ ।

यसैबीच लालबकैया नदीमा आएको बाढीले बगाएर कटहरिया नगरपालिका १ भसेढवाका १९ वर्षीय बैजु यादव बेपत्ता भएका छन् । नदीमा दाउरा टिप्न जादा बुधबार दिउसो बाढीको भेलले यादवलाई बगाएको थियो । उनी अहिले सम्म फेला परेको छैन् । यता चाँदी नदीमा आएको बाढीले बगाएर चन्द्रपुर ३ गैडाटारका ५५ वर्षीय सुकमान थिंगको मृत्यु भएको छ । थिंगको शव ३ सय मिटर दक्षिणमा फेला परेको थियो ।

प्रकाशित : श्रावण ८, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?