कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजविराजमा समुदायमा कोरोना फैलिएको जिल्ला स्वास्थ्य प्रमुखको दाबी, नगरपालिकाद्वारा पूर्ण लकडाउन

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजमा समुदायस्तरमा कोरोना फैलिएको जिल्ला स्वास्थ्य प्रमुखले दाबी गरेका छन् । भारतबाट उपचार गराएर फर्किएका वृद्धको साउन १ गते कोभिड-१९का कारण मृत्यु भएको थियो ।

राजविराजमा समुदायमा कोरोना फैलिएको जिल्ला स्वास्थ्य प्रमुखको दाबी, नगरपालिकाद्वारा पूर्ण लकडाउन

कन्ट्याक्ट ट्रेसिङको क्रममा मृतकको सम्पर्कमा आएका परिवारका सदस्य तथा स्थानीयमा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए ।

राजविराज-६ निवासी ती वृद्धले खाद्य भण्डार र ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । असार १५ गते भारतबाट फर्किएका उनी क्‍वारेन्टाइनमा नबसी घरमै बसेका थिए । मुटु रोगी रहेका ती व्यवसायी असार ३० गते अस्वस्थ्य भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनलाई कोभिड-१९ पोजिटिभ देखिएको थियो । साउन १ गते उनको मृत्यु भएको थियो ।

उनको निधन भएको भोलिपल्ट परिवारका सबै ५ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धको घरमा काम गर्ने दुईजना कामदारमा पनि संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण मृत्यु भएका वृद्धको पसल हुनु र उनको परिवार र कामदारमा पनि संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा रहेका धेरैमा कोरोना देखिएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए ।

बुधबार मात्रै राजविराज नगरपालिकामा थप १३ जनामा कोरोना पुष्टि भएको छ । राजविराज नगरपालिका ७ मा ४ महिला र १ पुरुष, वडा नम्बर ६ का २ महिला र २ पुरुष,वडा नम्बर ३ का ३ पुरुष र वडा नम्बर १ का १ पुरुष मा कोरोना संक्रमण पुष्टि स्वास्थ्य प्रमुख यादवले बताएका छन् । योसँगै राजविराज नगरपालिकामा संक्रमितको संख्या ४८ पुगेको नगर प्रमुख शम्भुप्रसाद यादवले बताए ।

यस्तै, संक्रमित मध्ये दुईजना गजेन्द्रनारायण सिंह अस्पतालका कर्मचारी छन् । एकजना नर्सिङ कर्मचारी र अर्को स्वीपर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रण्जित झाले जानकारी दिए ।

यसैगरी बुधबार मात्र जिल्लाको अग्नीसाइर कृष्णा सवरण गाउँपालिकामा पनि एकजना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य प्रमुख यादवका अनुसार बुधबार दिउँसोसम्म जिल्लामा संक्रमितको संख्या ४ सय ४ पुगेको छ भने २ सय ८६ जना निको भएका छन् ।

कोरोना संक्रमितको संख्या बढेपछि राजविराज नगरपालिकाले बुधबारदेखि नगरपालिका क्षेत्रभित्र पूर्ण रुपमा लकडाउन गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि पूर्ण रुपमा लकडाउन आहृवान गर्नुपरेको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।

लकडाउनका कारण बुधबार राजविराजका मुख्य बजारमा पसलहरु खुलेका छैनन् । यद्यपि सडकमा चहलपहल भने कायमै छ । राजविराज नगरपालिकाद्वारा लगाइएको लकडाउन पालना गराउन स्थानीय प्रसासनले भने असहयोग गरेका छन् । लकडाउन पालना गराउन बुधबार बिहानदेखि राजविराजका सडकमा प्रहरी निस्किएका छैनन् ।

यसैबीच दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले बुधबारदेखि नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरुको भने अनिवार्य पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रण्जितकुमार झाका अनुसार संक्रमण पुष्टि भएकाहरु अस्पतालको आकस्मिक कक्ष,जेनरल वार्ड र पोषण गृहमा काम गरेकाले ती स्थानहरुमा जानआउनमा रोक लगाइएको छ । ‘तत्काल नयाँ बिरामी भर्ना लिन सक्ने अवस्था रहेन,’ डा. झाले भने,‘पुराना भर्ना भएका बिरामीहरु निको भएपनि पीसीआर परीक्षण पछि मात्र जान दिइने छ ।’

प्रकाशित : श्रावण ७, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?