४६ जनामा कोरोना पुष्टि भएपछि देवताल गाउँपालिकामा निषेधाज्ञा- प्रदेश २ - कान्तिपुर समाचार

४६ जनामा कोरोना पुष्टि भएपछि देवताल गाउँपालिकामा निषेधाज्ञा

लक्ष्मी साह

बारा — स्थानीय प्रशासनले देवताल गाउँपालिकाभर सोमबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । सोमबार ४६ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । सोमबार गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण गरी ४६ जनामा कोरोना पुष्टि भएको हो । 


जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको थियो । तर सोमबार एकाएक ४६ जनामा कोरोना भेटियो । एम्बुलेन्स र औषधि पसल सञ्चालन लगायत अतिआवश्यक खाद्यान्न ढुवानीबाहेक हिँडडुल गर्न रोक लगाइएको छ । यसैगरी उक्त गाउँबाट आवतजावतसमेत बन्द गरिएको छ । वडा कार्यालयहरुबाट दिइने सबै खालको सिफारिसलगायत अन्य सेवाहरु बन्द गरिएको छ । धार्मिक, साँस्कृतिक, बिहेवारी नगर्न र हाट बजार नलगाउन निर्देशन गरिएको छ ।

उक्त गाउँपालिकामा असार ३० मा ७४ जनाको स्वाब संकलन गरी नारायणी अस्पताल वीरगन्जमा परीक्षण गर्दा ३५ पुरुष र ११ महिलामा कोरोना पोजिटिभ देखिएकोले अर्को सूचना नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

संक्रमित हुनेहरुमा १६ जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि ९ जना, पालिकाका कर्मचारी ६ जना र बाँकी स्थानीय हुन् । ‘कुनै संक्रमितलाई लक्षण देखिएको छैन्,’ एक संक्रमितले भने, ‘गाउँकै क्वारेन्टाइनलाई आइसोलेसन बनाएर बसेका छौं । कसरी सर्‍यो थाहै भएन ।’

प्रकाशित : श्रावण ५, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले बारामा सयौं बिघा जमिन बगर

लक्ष्मी साह

बारा — पाँच दिनयता विभिन्न खोलाहरूमा आएको बाढीले जिल्लाको सयौं बिघा खेतीयोग्य जमिन बगर बनेको छ । बाढीले त्यहाँ भर्खरै रोपिएको धानबालीसमेत मासिदिएको छ ।

जंगल र चुरेक्षेत्रबाट बग्ने खहरे खोला नियन्त्रणको प्रयास नहुँदा भावर क्षेत्र हुँदै दशगजासम्मका किसानले बाढीबाट नोक्सानी बेहोर्नुपरेको छ ।

बंगरी र किरकिचहा खोला मिसिएको प्रसौनी गाउँपालिका–५ प्रस्टोका बेलहियामा एकै ठाउँ साढे तीन सय बिघा धानबाली कटानमा परेको छ । ‘डेढ सय किसानको साढे तीन सय बिघा जमिन कामै नलाग्ने अवस्थामा पुगेको छ,’ प्रसौनी गाउँपालिका–५ का सहिम अन्सारीले भने, ‘मेरो मात्र डेढ बिघा जमिन बगर भएको छ ।’ प्रदेश सरकारको बजेटबाट दोभानमा एउटा बाँध बनाइए पनि त्यसले थेग्न नसकेको हो । अन्सारीका अनुसार दोभानमा दुईवटा बाँध बाँधिएको भए यस्तो क्षति हुँदैनथ्यो । पीडित किसानहरूले विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र दिँदै खोला नियन्त्रणको लागि ध्यानाकर्षणसमेत गराएका छन् ।

यसै गरी जितपुरसिमरा उपमहानगरपालिका–१९ को इनर्वासिरा गाउँनजिकको बंगरी खोलामा बाढी आउँदा ५० बिघाभन्दा बढी धानबाली बालुवाले पुरिएको किसान महेन्द्र साहले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार चुरे पहाडबाट बालुवा, ढुंगा झिक्दा पनि त्यसको असर खेतीयोग्य जमिनमा पर्ने गरेको छ । बर्खामा चुरे भासिएर यहाँ बर्सेनि ठूलो क्षति हुने गरेको पाइएको छ । ‘जिल्लाको ६० हजार हेक्टर धानखेती गरिने जमिनमध्ये १० देखि २० प्रतिशतमा ती खोलाबाट क्षति हुने गरेको छ,’ उनले भने ।

हिउँदमा चुरे पहाडको फेदबाट ठूला मेसिन प्रयोग गरेर दैनिक सयौं ट्रक बालुवा–ढुंगा निकालिँदा त्यसको असर दसगजातिर पर्ने र किसानको जमिन कटान हुने गरेको उनको भनाइ छ । चुरे क्षेत्रबाट बाढीसँगै निस्केको बालुवाले यसपालि पनि निकै क्षति पुर्‍याएको छ ।

चुरे दोहन नरोकिँदा तराईका खेतीयोग्य जमिन बगर बन्दै गएपछि यस भेगका किसान चिन्तित भएको सिम्रौनगढ–८ का रामएकवाल यादवले बताए । ‘बाढीसँगै आएको बालुवा र माटोले धानखेती सखाप पारेको छ,’ उनले भने, ‘खोला नियन्त्रण गरेर खेतीयोग्य जमिन जोगाउने योजना स्थानीय तहसित छैन ।’ यसै गरी चारकोसे जंगलका काँटगाउँ, हरैया, बोधवन, प्रसौना, मधुवन, नयाँ वस्ती, सहजनाथलगायत क्षेत्रका सयौं बिघामा भँगालो पसेर बाली नष्ट गरेको छ।

प्रकाशित : श्रावण २, २०७७ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×