४६ जनामा कोरोना पुष्टि भएपछि देवताल गाउँपालिकामा निषेधाज्ञा

लक्ष्मी साह

बारा — स्थानीय प्रशासनले देवताल गाउँपालिकाभर सोमबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । सोमबार ४६ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । सोमबार गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण गरी ४६ जनामा कोरोना पुष्टि भएको हो । 

जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको थियो । तर सोमबार एकाएक ४६ जनामा कोरोना भेटियो । एम्बुलेन्स र औषधि पसल सञ्चालन लगायत अतिआवश्यक खाद्यान्न ढुवानीबाहेक हिँडडुल गर्न रोक लगाइएको छ । यसैगरी उक्त गाउँबाट आवतजावतसमेत बन्द गरिएको छ । वडा कार्यालयहरुबाट दिइने सबै खालको सिफारिसलगायत अन्य सेवाहरु बन्द गरिएको छ । धार्मिक, साँस्कृतिक, बिहेवारी नगर्न र हाट बजार नलगाउन निर्देशन गरिएको छ ।

उक्त गाउँपालिकामा असार ३० मा ७४ जनाको स्वाब संकलन गरी नारायणी अस्पताल वीरगन्जमा परीक्षण गर्दा ३५ पुरुष र ११ महिलामा कोरोना पोजिटिभ देखिएकोले अर्को सूचना नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

संक्रमित हुनेहरुमा १६ जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि ९ जना, पालिकाका कर्मचारी ६ जना र बाँकी स्थानीय हुन् । ‘कुनै संक्रमितलाई लक्षण देखिएको छैन्,’ एक संक्रमितले भने, ‘गाउँकै क्वारेन्टाइनलाई आइसोलेसन बनाएर बसेका छौं । कसरी सर्‍यो थाहै भएन ।’

प्रकाशित : श्रावण ५, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?