महोत्तरीका दर्जन सडक अवरुद्ध, जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधरण [तस्बिरहरु]

सुनिता बराल

महोत्तरी — लगातारको वर्षापछि महोत्तरीका मुख्य तथा सहायक एक दर्जन सडक अवरुद्ध भएका छन् । नदीमा पानीको बहाव उच्च भएपछि जिल्लाको तटिय क्षेत्रका बस्ती जलमग्न भएका छन् भने राजमार्गहरु अवरुद्ध भएका छन् । 

महोत्तरीका दर्जन सडक अवरुद्ध, जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधरण [तस्बिरहरु]

मटिहानी–जलेश्वर सडकखण्ड दुई दिनदेखि अवरुद्ध हुँदा अत्यावश्यक काममा निस्कने सर्वसाधरण डोरी समाएर जोखिमपूर्ण यात्रा गर्न थालेका छन् ।

मटिहानी–जलेश्वर सडक खण्डको बहुअर्वा चोकमा रहेको लचकामा पानीको बहाव तीव्र हुँदा सडकमा ३ फिटसम्म पानी बग्न थालेपछि यातायातका साधन अवरुद्ध भएका थिए । स्थानीयहरु डोरी लगाएर जोखिपूर्ण यात्रा गरिरहेको स्थानीय ऐबुल रायनले बताए ।

अवरुद्ध सडकमा पैदल यात्रुलाई सहज बनाउन सशस्त्र प्रहरी बल ९ नम्बर गण जलसागर टोलीको सहयोगमा सडकमा बोरामा भरिएका गिट्टी राख्ने काम गरिएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए ।


‘अत्यावश्यक कामका लागि हिँड्ने यात्रु जोखिम मोलेरै हिँडिरहेका छन्’ मेयर मण्डलले भने, ‘हामी जोखिम कम गराउन काम गरिरहेका छौं’ । जलसागर गणका गणपति निरकृष्ण अधिकारी सहितको सशस्त्र प्रहरी टोली र मटिहानी नगरपालिकाका कर्मचारी समेतको टोली अहिले सो बाटोको अवरोध हटाउन काम गरिरहेको मेयर मण्डलले बताए ।

त्यस्तै जिल्लाको जलेश्वर–बर्दिवास सडकखण्डमा रातु खोलाको पानीले १५ फिट बाटो कटान गरेपछि बाटो अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बलवा नगरपालिका–१ बन्चौरीस्थित जनकपुर–बलवा सडकलाई पनि पानीले १२ फिटभन्दा माथि कटान गरेपछि सवारी चल्न सकेको छैन ।


महोत्तरी गाउँपालिका–३ मडैस्थित जलेश्वर बर्दिवास सडका क्षेत्रको भित्री सडकलगायतका सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : असार २९, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?