कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सप्तरीका साढे ४ हजार किसानको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदियो

अवधेशकुमार झा

राजविराज — सप्तरी जिल्लाका ४ हजार ४ सय ९४ किसानको चार महिनाको कृषि ऋणको ब्याज प्रदेश सरकारले तिरिदिएको छ ।

सप्तरीका साढे ४ हजार किसानको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदियो

सोमबार राजविराजमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लामा विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरुको चार महिनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरे ।

कोभिड–१९महामारीका कारण लकडाउन हुँदा किसानहरु सबभन्दा बढी समस्यामा परेको भन्दै मन्त्री साहले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याज तिर्ने मन्त्रालयको योजना अनुरुप उक्त चेक हस्तान्तरण गरेका हुन् । जिल्लामा ५ लाख रुपैयाँभन्दा बढी कृषि ऋण लिएका कृषकहरुको ब्याज अर्को चरणमा तिरिदिने बताए ।

जिल्लामा कुल ६ हजार ५ सय ७२ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको कषि ज्ञान केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ४ हजार ४ सय ९४ जना कृषकको चार महिनाको ब्याज पहिलो चरणमा तिरिएको हो । ती कृषकहरुले विभिन्न ५० वटा बैंक, वित्तिय संस्था र सहकारी संस्थाबाट कृषि ऋण लिएका थिए ।

मन्त्री साहका अनुसार ती किसानहरुको ब्याज बापत ३ करोड, ३ लाख, ५५ हजार ९ सय ६३ रुपैयाँ ६७ पैसा मन्त्रालयले बैंकहरुमा बुझाइएको हो । यसैगरी लकडाउनका कारण कृषि बालीनाली क्षति भएकोमा पुर्नस्थापनातर्फ १ सय ४१ जना कृषकलाई २३ लाख २१ हजार २ सय ६९ रुपैयाँ र पशुपक्षीतर्फ क्षति भएका १ सय ६६ कृषकहरुलाई ९७ लाख ६० हजार ३ सय ४० रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको बताए । ५ लाख रुपैयाँभन्दा बढीको कृषि ऋण लिएका कृषकहरुको हकमा आगामी आर्थिक वर्षमा ब्याज व्यवस्थापन गरिने मन्त्रालयको तयारी रहेको मन्त्री साहले बताए ।

प्रदेश नम्बर २ मा ८० हजार कृषकले कृषि ब्याज तिरिदिनका लागि आवेदन गरेको बताउँदै मन्त्री साहले बारामा सबभन्दा बढी १९ हजार र सप्तरीमा सबभन्दा कम ६ हजार ५ सय ७२ जनाले आवेदन गरेको जानकारी दिए । उनले ८० हजारमध्ये पहिलो चरणमा प्रदेशभरिका ५० हजार कृषकको चार महिनाको ब्याज तिरिने बताए । उनले प्रदेशभरिमा कृषकहरुले विभिन्न बैंक र वित्तिय संस्थाबाट ८० अर्बभन्दा बढी ऋण लिएको भएतापनि त्यसको अपेक्षा उत्पादन निक्कै कम रहेकोमा दुख व्यक्त गरे । यसैगरि प्रदेश सरकारले लकडाउनका कारण तरकारी र फलफूलबालीमा क्षति भएका कृषकहरुलाई प्रतिकट्ठा ७ सय ५० रुपैयाँ र कुखुराफर्महरुलाई क्षति भएको कुखुराको हकमा १ हजारसम्म कुखुराको प्रतिगोटा १ सय तथा १ हजार भन्दा माथिको कुखुराको हकमा प्रतिगोटा ५० रुपैयाँका दरले अनुदान दिने बताए ।

प्रदेश सरकारले लकडाउनका कारण बेरोजगार भएका युवाहरुको हकमा नव परवर्तन कृषि प्रवर्द्धन कार्यक्रम र एक दिनमा दिनको एक हजार रुपैयाँ कार्यक्रम ल्याएको बताउँदै कृषक र युवाहरुलाई सरकारसँग जोडने कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले पछिल्लो समय बाढी र अन्य विपत्तिका कारण प्रदेशमा कृषि क्षेत्र नराम्ररी प्रभावित हुँदै आएकोले कृषि विकास कोषको स्थापना गरी कृषकहरुलाई पुर्नस्थापन गर्ने तयारी गरिएको बताए ।

यस्तै कृषकहरुका उत्पादन बजारसम्म पुर्‍याउन बिचौलियाहरुको भर पर्नुपर्ने अवस्थालाई अन्त गर्न प्रदेशका हरेक प्रमुख सहरहरुमा नमुना पसल सञ्चालन गरी कृषकहरुका उत्पादन सो पसलबाट सिधै बिक्रीको व्यवस्थापन मिलाउन लागिएको बताए ।

प्रकाशित : असार २९, २०७७ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?