२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

जलमग्‍न जलेश्‍वर (तस्बिरहरु)

सुनिता बराल

महोत्तरी — महोत्तरी र धनुषाको सिमाना भएर बग्‍ने रातु खोलाको बाँध भत्किएपछि जिल्लाको सदरमुकाम जलेश्वरसहित दक्षिणि क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । लगातारको वर्षाले खोलामा पानीको बहाव बढेपछि बाँध भत्किएको थियो । 

जलमग्‍न जलेश्‍वर (तस्बिरहरु)

एकडारा गाउँपालिका ६ कोल्हुवा र महोत्तरी गाउँपालिकाको रानी रतवाराबाट तटबन्ध भत्काउँदै खोला बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

जलेश्वर नगरपालिका ८ को रमौल र बजराही हुँदै बाढिको पानी जलेश्वरमा पसेपछि सो क्षेत्रका बस्ती जलमग्‍न भएको जलेश्वर-२ अस्पताल चौकका बादल साहले बताए । जलेश्वरसँगै जोडिएको मटिहानी नगरपालिकाको सिमरदही,बहुअर्वा,पासवान टोल लगायतको बस्तीमा पनि विगही खोला पसेर डुबान भएको स्थानीयले बताएका छन् । घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् ।


केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

पानीको बहाब बढेर जोखिम सिर्जना भएमा खोज तथा उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको कटुवालले जानकारी दिए । खोलाले बाँध भत्काएको रानी रतवारास्थित तटबन्ध टुटेको स्थानतर्फ नेपाली सेनाको टोली गइसकेको र त्यहाँ पानी रोक्न प्रयास गरिने प्रजिअ कटुवालले बताए ।


महोत्तरीमा प्रत्यक वर्ष बाढी र डुबानबाट ४० हजारभन्दा बढि मानिस प्रभावित बन्दै आएका छन् । यसवर्ष १९ हजार ७ सय ८८ घर र ८५ हजार मानिस बाढी र डुबानको उच्च जोखिममा रहेको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : असार २८, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?